नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको छ । ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताउनु भएको हो । ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने बताउनुभएको छ । आइतवार पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पार्नुभएको छ । ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताउनुभएको छ ।

यता नेपाल पक्षले वक्तव्यबारे धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उनले भनिन्, ‘औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।’

ओलिले आफुलाइ अफ्ट्यारो परेको बेला जाली र नयाँ फण्डा ल्याउने गरेकोले ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको उनको भनाइ छ ।

‘उहाँले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गर्नु भएको प्रस्ट हुन्छ । केपी ओलीको जुन रवैया देखिएको छ । जस्तो मान्छेलाई सरकारमा सामेल अगाडि गइराख्नु भएको छ । त्यसले त सिद्धियो नि ?,’ उनी भन्छिन् ।

ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको शाक्यले बताइन् । उनले भनिन्, ‘यस्तो अवस्थामा कसरी साथ दिन सकिन्छ भन्या ? अब त झन झन मिल्न गाह्रो भइरहेको छ । एउटा एउटा फण्डा झिकेर अलमल्याउने काम भइरहेको छ । अब हामी अलमलिदैनौं । हामी भ्रममा छैनौं ।’