राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ। कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन्। तर पनि काठमाडौं विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ। यस्तो किन भएको होला ?

वायुको गुणस्तरसम्बन्धी तथ्यांक संकलन तथा प्रशोधन गर्ने स्विट्जरल्यान्डस्थित एयर भिजुयल नामक संस्थाका अनुसार गत सोमबार दिउँसो प्रदूषित सहरको सूचीमा विश्वका सय सहरमध्ये काठमाडौं छैटौं स्थानमा थियो। त्यस दिन काठमाडौंको वायु प्रदूषण मापक सूचकांक (एक्युआई) ११० थियो। निषेधाज्ञा जारी भएको तेस्रो सातामा आइपुग्दा आइतबार साँझ ६ बजे काठमाडाैं ८७ अंकसहित १०औं स्थानमा छ। पहिलो स्थानमा १७६ अंकसहित चिलीको सान्टियागो छ। आइतबार बिहान ७ः४५ बजे काठमाडाैंको एक्युआई १२७ थियो। चैतको दोस्रो साता देशका विभिन्न जिल्लामा लागेको डढेलो र धेरै दिनसम्म पानी नपर्दा विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा थियो। त्यति बेला काठमाडौंको एक्युआई ३०० नाघेको थियो।

जनस्वास्थ्यमा प्रभावको हिसाबले एक्युआई ० देखि ५० सम्म रहेको अवस्थालाई स्वस्थकर र ५१ अंक देखि १०० सम्मको अवस्थालाई मध्यम (मोडरेट) तह मानिन्छ। मध्यम तहमा अस्वाभाविक हिसाबले संवेदनशील मानिस धेरै समयसम्म घरबाहिर निस्कन हुँदैन। यसैगरी १०१ देखि १५० सम्म हुँदा संवेदनशील मानिसका लागि अस्वस्थकर मानिएको छ। प्रदूषणको यस तहमा बालबालिका र श्वासप्रश्वासमा समस्या भएका प्रौढ घरबाहिर धेरै समस्यसम्म रहन नहुने विज्ञ बताउँछन्। एक्युआई मापन गर्दा शून्यदेखि ५०० सम्मको स्तरलाई ६ तहमा बाँडिएको छ। एक्युआई गणना गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइडजस्ता प्रदूषणका कारकको मापन गरिन्छ।

एक्युआईमा प्रमुख कारक तत्व मानिएको पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा ४० माइक्रोग्राम सूक्ष्म कण रहेमा स्वच्छ वायु भनेर नेपालले परिभाषा गरेको छ र त्यही मापदण्डलाई आधार मानेको छ। विश्व स्वास्थ्य संगठनको निर्देशिकाले एक दिनको पिएम २.५ को सरदर स्तर २५ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने भनी तोकेको छ। राजधानीको रत्नपार्कमा गत २४ घण्टामा पिएम २.५ सरदरमा ५४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ। यो विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा दुगुना र नेपालको राष्ट्रिय मापदण्ड भन्दा १४ अंकले बढी हो।

जारी निषेधाज्ञाले सार्वजनिक यातायात पूरै ठप्प रहेको अवस्थामा काठमाडांैमा प्रदूषण उच्च देखिनु अध्ययनको विषय बनेको छ। प्रश्न उठेको छ– के यातायातका कारण निस्कने धुवाँधुलो राजधानीको प्रदूषणका लागि प्रमुख कारण हो त ? राजधानीको अत्यधिक प्रदूषणका लागि गाडीको धुवाँ, कलकारखाना विशेषगरी इँटा उद्योगबाट निस्कने धुवाँ, सडकको धुलो, घरबाहिर जलाइने फोहोरलगायतलाई कारक मानिएको छ। यति बेला यातायात लगभग ठप्प छ भने उपत्यकामा सय हाराहारीमा रहेका इँटा उधोग पनि बन्द नै छन । नागरिक दैनिकले खबर छापेको छ।