काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकिकृत नेकपाको कमाण्ड गरेर आफूले केपी ओली प्रवृत्तिविरुद्ध संघर्ष गरेको बताएका छन् । 

शनिवार पेरिसडाँडामा भएको माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ओली प्रवृत्तिविरुद्ध एमाले नेताहरूले समेत संघर्ष गरेको उनको भनाई छ ।

‘नेकपामा केपीलाई कारवाही मैले मात्रै गर्‍या हो त ?’ उनले भनेका छन्, ‘पूर्व एमाले समेतले गरेको हो ।’ तर, एकिकृत नेकपालाई खारेज गरेर सर्वोच्च अदालतले एमालेका खनाल नेपाल पक्षसँग पनि सम्बन्धविच्छेद गराएको उनले बताए । ‘लभ परिरहेका बेला अदालतले डिभोर्स गराइदियो’ उनले भनेका छन्, ‘अदालतले त्यसो गर्न मिल्छ त ? हामीले यसलाई अप्राकृतिक भनेका छौँ ।’

यस्तै, अध्यक्ष प्रचण्डले नयाँ सत्ता सकिरणमा नेपाली कांग्रेस आउनु ठूलो कुरा भन्दै केही दिनमै नयाँ सरकार बन्ने दाबी पनि गरेका छन् । ‘केपी शर्मा ओलीले सत्ता कब्जा नै गरेर हामी सबैलाई सिध्याउने भयो भनेर कांग्रेस आउनु ठूलो कुरा ठान्छु ।’ उनले भनेका छन्, ‘जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको छ । केही दिनभित्र नयाँ सरकार गठन हुन्छ । ’

उनले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर ओलीलाई चौथो पार्टी बनाउनेसमेत बताएका छन् । एमालको एउटा पक्षसँग पुरानो लभ रहेको र जसपासँग स्तर मिल्ने भएकाले मोर्चा बन्ने उनको भनाई छ ।
प्रचण्डले तत्कालीन नेकपामा आफूलाई एमालेका नेता कार्यकर्ताले नै पार्टीमा नयाँ अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित भएपछि ओली आतंकित भएको समेत बताएका छन् । ‘केही पूर्व एमाले आएर भने–कमरेड तपाईंले केन्द्रीय समिति बैठक सञ्चालन गरेको पनि हेरियो, तपाईको प्रशिक्षण पनि सुनियो। हामीले मदन भण्डारी भ्ट्टायौँ। उहाँहरुको भावना अर्को मदन भण्डारी भेटियो भन्ने थियो’, अध्यक्ष प्रचण्डले भने, ‘यसबाट केपी ओली लगायतका दक्षिणपन्थी आतंकित भए।’