फुटबल कहाँ पाउनु, यस्तो बल खेलिन्छ मुगुमा बालकहरु।‘पहिले तपाईँसँगै एक जना प्रकाश भन्ने पनि आएका थिए, उसको पनि तपाईँले केही देखाउनु भएन’सुनकली डकुमेन्ट्रीका निर्देशक भोजराज भाट जनकठघरामा थिए। मेस्सी, रोनाल्डो जस्ता खेलाडीहरुले व्यवसायिक फुटबल खेल्ने देश स्पेनमा हुने एउटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सुनकली जस्तै प्यासन भएका किशोरीहरुको टिमलाई फुटबल खेलाउने सपनाका साथ उनी मुगुको वाम गाउँमा आएका थिए। उनको टिम यहाँका किशोरीहरुलाई छनोट प्रतियोगितामा खेलाएर राम्रा खेलाडीहरु छानेर स्पेन लैजाने लक्ष्यका साथ झण्डै ६ घण्टा ठाडो उकालो ओरालो गरेर गमगढीबाट यहाँ आइपुगेको थियो। तर उनको स्वागत हैन, ‘जुत्ताको माला’ लगाउन तयार भएर बसेका थिए त्यहाँका केही व्यक्तिहरु। मुगुबाट प्रतिनिधि सभाका लागि सांसद निर्वाचित गोपाल बमको मध्यस्थताका कारण मोसै दल्ने परिस्थिति आइपरेन। असन्तुष्टि के हो, त्यसबारे जवाफ दिन वार्ता थालियो- असन्तुष्ट पक्ष र भाटबीच।

‘मैले लामो समयसम्म भाषण गरेको थिएँ, मेरो इत्ति छोटोमात्र राख्नुभयो डकुमेन्टमा,’ एक अधवैँशे आफूलाई चित्त नबुझेको कुरा राख्दै थिए।प्रकाश केसी अहिले अस्ट्रेलियामा मेलबर्न फोटो प्रोजेक्टमा काम गरिरहेका छन्। काठमाडौँ फर्किएपछि उनलाई मैले फेसबुकको मेसेन्जरबाट यो कुरा सुनाएँ। लामो समयसम्म उताबाट केही जवाफ आएन। ऊ त हाँसिरहेको पो रहेछ। डिल्लीबजारमा इङ्ग्लिस सिक्दासिक्दै क्लास छाडेर प्रकाश सुनकली डकुमेन्ट्री खिच्न मुगु हान्निएको थियो। उसैको डकुमेन्ट्रीमा केही देखाइएन भनेर असन्तुष्टि पोखिँदै थियो।‘साह्रै इन्नोसेन्ट भन्ने कि, निहुँ खोजुवा भन्ने कि, के हो?’ उनले च्याटबाटै सोधे। यता वाममा भने भाट प्रष्ट्याउँदै थिए, ‘ऊ त खिच्ने मान्छे हो, उसको कसरी आउँछ डकुमेन्ट्रीमा?’डकुमेन्ट्रीमा सबै भाषण राख्न सम्भव नहुने कुरा प्रष्ट्याउन उनलाई निकै गाह्रो भएको थियो। सरकारलाई राख्नुपर्ने खालका मागसमेत व्यक्ति भोजराज भाटलाई राखिँदै थियो। रारा छायाँनाथ नगरपालिकाका मेयरले त मुखै खोले, ‘यसको आँखा हेर्दै फटाहा जस्तो देखिन्छ!’***चार वर्षअघि माइसंसारमा एउटा ब्लग निकै लोकप्रिय भएको थियो। ब्राजिलमा विश्वकप फुटबल भइरहँदा नेपालको गरिब जिल्ला मुगुमा फुटबलले ल्याएको परिवर्तनबारे ब्लग थियो त्यो। पत्रकार भोजराज भाटले मुगुको भोक, गरीबी, अभावमा संघर्ष गर्दै हुर्किरहेका चेलीको जनजीवनलाई फुटबलसित जोडेर एउटा डकुमेन्ट्री बनाएका थिए- सुनकली। देशविदेशमा त्यो डकुमेन्ट्री निकै रुचाइयो।सुनकली अहिले काठमाडौँको लिटिल एन्जलसमा १२ कक्षामा पढ्दै छिन्। सिङ्गो मुगु जिल्लाको इतिहासमा जम्मा तीन जनाले लिटिल एन्जलसमा पढेका छन्। दुई जना प्रभावशाली घरका। र तेस्रो सुनकली। बामा गाउँको एउटा विपन्न परिवारमा जन्मिएकी सुनकलीलाई भाटले काठमाडौँ ल्याएर पढ्ने अवसर जुटाइदिएका थिए। ११ कक्षाको परीक्षा उनले इङ्ग्लिस मिडियमबाट दिएकी थिइन् र राम्रो अङ्क ल्याएर पास पनि भइन्। बिहे नभएका अरु दुई खेलाडी पनि काठमाडौँको स्कूलमा अध्ययन गर्दैछन्।

सुनकली युरोपको स्पेनसमेत पुगिन्। र त्यहाँको क्लब एथलेटिक बिलबाओको कृत्रिम घाँसे मैदानमा समेत खेलिन्।अहिले सुनकली मुगु जिल्लाकै आदर्श बनेकी छिन्। त्यहाँ किशोरीहरु फुटबल खेलमा झन् आकर्षित भइरहेका छन्। रङ्गशाला छैन। भिरालो मैदानमा फुटबल खेल्ने ती किशोरीहरुको आइडल अहिले मेस्सी हैन। को जस्तो बन्न चाहन्छौ भनेर सोध्दा उनीहरु भन्छन्- सुनकली दिदी जस्तो।संयोगले सुनकलीकै कारण यसका निर्देशक भोजराज भाटलाई एउटा अफर आयो- मेस्सी, रोनाल्डो जस्ता खेलाडीहरुले व्यवसायिक फुटबल खेल्ने देश स्पेनमा हुने एउटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सुनकली जस्तै प्यासन भएका किशोरीहरुको टिमले फुटबल खेल्ने।नयाँ सुनकलीहरु बनाउन उनले मुगुको बाम गाउँ नै रोजे। तर उनको यो निर्णय उनकै लागि चुनौतिपूर्ण थियो। ‘हैन बोस, यहाँका सबै मान्छेहरु त्यस्ता हैनन्। केही केही मात्रै त्यस्ता हुन्। बामेलीहरु त मनका यति सफा हुन्छन्, ज्यान दिन्छन् यिनीहरुले अरुका लागि’, उनी पछि भन्दै थिए।यता खेल गराउन दिने नदिने स्पष्ट भइसकेको थिएन। गाउँगाउँबाट छनोट प्रतियोगिता खेल्न किशोरीहरु आएका थिए। विवाद बढ्दाबढ्दै त्यो दिन उद्घाटन खेल हुनै सकेन।बेलुुकी अबेरसम्म मुगुको आकाशमा बादल थिएन। तर राति २ बजे एक्कासी आकाश गर्जिन थाल्यो। हुरी बताससमेत चल्यो। भूइँमा लहै सुतेका हामी सिरकले नछोपेको जाडो चुपचाप अँध्यारोमा सहँदै आँखा चिम्म गर्दै बसिरहेका थियौँ। मुुगुमा भनाइ छ, हावाहुरी लाग्यो भने हिउँ पर्दैन। भइदियो अर्कै, एकाबिहानै बाहिर नजर लगाउँदा त सर्वत्र सेताम्मे।

लौ बर्बादै भयो, आज पनि खेल नहुने भयो कि क्या हो? हामीलाई कौतूहलता जाग्यो–यस्तो छपक्कै छोपेको हिउँमा कसरी खेल सम्भव छ र? मुगुको सदरमुुकाम गमगढीबाट एक दिनको हिँडाइमा पुुगिने बाम गाउँमा जसै घाममा बिहानी किरण देखिन थाले, १४ वर्षमुनिका चेलीहरु बल बोक्दै हिमालय प्राविको प्राङ्गणमा फुटबल खेल्न सुुरु गरिहाले। युरोपमा भारी हिमपात भएका बेला ‘क्लोज डोर’का प्रशिक्षणहरु बन्द गरिएका समाचार सुनिएकै हो तर यहाँ यस्तो नियम लागू थिएन।

एक हुल चेलीहरु नाफाको ओरालोबाट बल गुडाउँदै बाम खेल मैदानतिर हान्निए। झण्डै २७०० मिटरको उचाइमा रहेको यस खेल मैदानमा मुगुका चेलीहरु लात्ताले फुटबल खेल्दै थिए। रोचक त के भने यहाँ खेलिरहेका ८० प्रतिशत खेलाडीले पहिलोपटक फुटबल छुने अवसर पाएका थिए। डेढ दिन हिडेर मुगुको पिना गाउँबाट बाम आइपुुगेकी स्वस्तिका मल्ल भन्दै थिइन्–१४ वर्ष मुनिका छात्राको फुटबल गेम हुुँदैछ भनेर रेडियोमा समाचार सुन्यौं, त्यही आधारमा यहाँ आएका हौं। अहिलेसम्म फुटबल खेलेका छैनौं, डर पनि लागिरहेको छ।

बाममा खेल हुनुको पनि विशेष कारण छ। सिंगो मुगुमा बामको जस्तो खेल मैदान छैन, यद्यपि यो पनि राम्रो खेल मैदान होइन। अलिकति भिरालो। बल दायाँतिर गयो भने सिधै आधा घण्टा तल ओर्लिएर ल्याउनुपर्ने। समस्या त के परिदियो भने हिजोसम्म जिल्ला खेलकुद विकास समिति बामको यस खेल मैदानमा चुना हालेर रेखा कोरेको थियो तर रातभर परेको हिमपातले रेखा सबै बिलाए। परेन फसाद?

खेलकुद विकास समिति मुुगुुका अध्यक्ष कृष्ण सेजुवाल भन्दै थिए–अब कार्पेट बिछ्याउनुुपर्छ यसमा। तर कार्पेट ल्याउनुु कहाँबाट? धन्न १२ बजेसम्म खेल मैदानको हिउँ विस्तारै बिलाउन थाल्यो। जिल्लाभरका १० टीमका किशोरी खेलाडीहरु जुुर्मुुराउन थाले। भर्खरै मुगुबाट प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित गोपालबहादुर बमले खेलको उद्घाटन गरे। एक दिनमा पाँच वटा खेलहरु भए। तीमध्ये एक खेलमा मात्र गोल भयो, बाँकी सबै पेनाल्टीबाट जित-हार भयो। मुगुकी किशोरी गोलकिपरहरु खतरा, किपर कस्तो चुम्बक जस्तो नारा लगाउँदै गर्दा बल रोकिहाल्ने। काठको खम्बा ठड्याएर बनाइएका गोलपोस्ट।
खेलाडीहरु छान्ने जिम्मा पाएकी एन्फाबाट मान्यता प्राप्त महिला प्रशिक्षक भगवती राना मगरको तीखो नजर हरेक किशोरी खेलाडीतिर थियो। उनी दङ पर्दै थिइन्, बिना कुनै ट्रेनिङ क्या गज्जब खेल्ने यिनीहरु।***‘नाइँ नाइँ म त मान्दै मान्दिनँ। मेरी छोरीलाई नलिएसम्म हुँदै हुन्न। खारेजै गर्नुपर्छ’एकाबिहानै एक अधवैँशे महिला आफ्नी छोरी सेलेक्सनमा नपरेकोमा विरोध गर्न आएकी थिइन्। कसैले सम्झाउन सकेनन् उनलाई। बल्लतल्ल भगवतीले सम्झाएर पठाइन्। भगवतीले राम्रा देखिने खेलाडीहरुको नाम टिपेकी थिइन्। नाम टिप्ने, सेलेक्सन नहुने कसरी भन्दै अधिकांशको आपत्ति रह्यो। नाम टिप्नु नै सेलेक्सन हुनु हैन भनेर बुझाउने पो कसरी !अन्ततः सुनकलीको गाउँबाट तयार भयो १७ जना यु १४ किशोरी खेलाडीको सूची।

स्पेनमा खेल्न छनोट भएका खेलाडीहरुको फोटो पासपोर्टमा।• राजलक्ष्मी बूढा
• रामदेवी बढुवाल
• रीतादेवी रोकाया
• भाग्यलक्ष्मी भाम
• विपना मल्ल
• रामकली बोहोरा
• हिमाली शाही
• पुष्पादेवी शाही
• रोशनी कामी
• संगीता थापा
• सतमा बूढा
• सोचपुरा महतारा
• सत्यलक्ष्मी बूढा
• उर्मिला बढुवाल
• स्वस्तिका मल्ल
• सुनमति बूढा
• यमुना चौलागाइँछानिएका खेलाडीहरुले प्राक्टिस गरे रारा तालको छेउमा। हरक्षण रङ फेरिरहने तालकी रानी राराको मनमोहक दृश्यलाई पृष्ठभूमिमा राखेर उनीहरुले अभ्यास गरे। यी खेलाडीहरुलाई अबका केही दिनमा अझै बन्द शिविरमा राखेर अभ्यास गराइँदैछ
स्पेनको सान साबेस्टियनमा जुलाई १ देखि ७ सम्म हुने डोनोस्टी कपको जी १४ क्याटेगोरीमा मुगुको हिमाली भेगका यी किशोरीहरुको प्रतिस्पर्धा विश्वका ५० भन्दा बढी देशका खेलाडीहरुसित हुनेछ। अर्बौँ डलरको चमकदमक र ग्ल्यामर अनि प्रोफेसनल खेलाडीहरुको दबदबा रहने विश्वकप फुटबलको छायाँमा यो अर्को विश्वकप हुन गइरहेको छ जहाँ खेलाडीहरु पैसाका लागि हैन, प्यासनका लागि खेल्छन्। जोसित फुटबल छैन, मोजाका डल्लाहरु छन्। जहाँ मैदान छैन, भिरालो पाखा छ। जहाँ साँच्चिकै खेल भावना छ।***

के यी १७ खेलाडीमध्ये कसैले सुनकली जस्तो क्षमता देखाउला? आर्थिक विकास सूचकाङ्कमा पिछडिएको एउटा जिल्लाका चेलीहरुले विदेशी भूमिमा कृत्रिम घाँसे मैदानमा खेल्दा कस्तो होला? यस पटक पनि डकुमेन्ट गर्ने मूडमा छन् भोजराज। यो ब्लग लेख्दालेख्दै उनका बुबाको ह्दयघातका कारण निधन भएको सूचना आयो। उनी जाँदैछन् आफ्नो गृहनगर। तर मुगुका चेलीलाई स्पेनका लगेर खेलाउने मिसन जसरी पनि पूरा गर्नुपर्ने ध्यान पनि छ। किशोरीहरुलाई बन्द शिविरमा राखी प्रशिक्षण दिने, स्पेनको कृत्रिम घाँसे मैदानमा खेल्नका लागि मानसिक र शारीरिक रुपमा तयार पार्ने र मुगुको खेल इतिहासमा एउटा गर्विलो क्षण बनाउने उनको योजनामा अझै अप्ठेराहरु धेरै होलान्, त्यसको सामना उनी र उनको टिमले कसरी गर्ने हो, हेर्न बाँकी छ।यसका लागि उनले क्राउड फन्डिङ पनि सुरु गरेका छन्।

google adsФокин С Аfacebookseo этоbuy Ballistic calculatorsИзраиль