बीबीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव पारित भएको छ। तल्लो सदनले उनलाई महाअभियोग लगाउने प्रस्ताव पारित गरेको हो । ट्रम्पलाई महाअभियोग लगाउने कि नलगाउने भन्ने बारेमा भएको मतदानमा कुल ४२७ मतमा ट्रम्पको विपक्षमा २३० भोट खसेको थियो भने पक्षमा १९७ मत खसेको थियो। बहुमत सदस्य उनको विपक्षमा उभिएसँगै महाअभियोग लगाउने प्रस्ताव पारित भएको हो ।

अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेको थिए ।

तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको दुरूपयोग गरेको ठहर गरेको छ। यस्तै उनीमाथि दुई प्रकरणमा महाअभियोग लगाउन मिल्ने तल्लो सदनको ठहर छ।

पहिलो अधिकार दुरुपयोग गरेको विषयमा मतदान भएसँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा पनि मतदानको सामना गर्नुपर्ने भएको छ । बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए।

अब उनी संयूक्त राज्य अमेरिकाको राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो माथिल्लो सदन ’सिनेट’ले आगामी महिना लगाउने भएको छ। आउँदो जनवरी महिनामा ट्रम्पको विषय टुंगिने छ ।