काठमाडौं । नेकपाले संसदिय फोहोरी खेल खेलेकोछ।सत्ता समिकरणमा समाजबादी पार्टीसँग विवाह नै गरिसकेको नेकपाले राष्ट्रियसभा निर्वाचनमा राजपा पार्टीसँग लभ पारेको छ । सत्ताको लगनगाँठो उपेन्द्र यादवसँग भएपनि अल्पकालिन निर्वाचनको प्रेम राजेन्द्र महतोसँग गाँसिएको छ । मधेस केन्द्रीत राजनीति गरिरहेका समाजबादीका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच लामो समयदेखि टकराव छ । नेकपाले उपेन्द्रलाई काखी च्याप्दा महतो आन्दोलनमै उत्रिने र महतोलाई महत्व दिँदा उपेन्द्र उफ्रिने विगतको इतिहास छ । नेकपाले फेरी एकपटक उपेन्द्रमाथी राजेन्द्रको बागचाल चलेको छ ।

राष्ट्रियसभामा प्रदेश नम्वर २ बाट चार सिट खाली हुँदैछन् । नेकपा र राजपा मिले चार सिट नै जित्ने निश्चित छ । नेकपाले २ र राजपाले दुई सिटमा तालमेल गरिसकेका छन् । तालमेलको प्रेम प्रस्ताव एकअर्काले बुधवार बालुवाटारमा स्वीकार गर्दै लिखित हस्ताक्षर गरिसके ।
मन्त्री हेरफेरदेखि नै असन्तुष्ट बनेको समाजबादी एकपटक फेरी झस्केको छ । सत्ता साझेदार दललाई नै पत्तासाफ हुनेगरी बालुवाटारमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको रोहवरमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अल्पकालिन प्रेम प्रस्तावमा हस्ताक्षर गरी महतोलाई बुझाएका छन् ।

समाजबादी पार्टीले सरकारसँग सम्बन्ध बिच्छेद गरे नयाँ प्रेमिका राजपा सरकारमा भित्रिने निश्चित छ । राजपाका लागि सिंहदरवारका केही ढोका पानस बाल्न नेकपाका दुई अध्यक्ष तयार छन् । तर पहिलो लगनगाँठोले औपचारिक सम्बन्ध बिच्छेद नगरेका कारण नयाँ दुलही सिंहदरवारमा भित्राइएको छैन । सिंहदरवारमा गरिएको हस्ताक्षर राष्ट्रियसभासम्म मात्र लक्षित भने छैन । आवश्यक परे प्रदेश नम्वर २ को सरकारमै यसको असर पर्ने निश्चित छ । केही महिनाअघि नेकपा अध्यक्ष दाहालले जनताप्रति उत्तरदायी नभए २ नम्बर प्रदेशको सरकार गिराउने चेतावनी पनि दिएका थिए । आवश्यक परे नेकपा र राजपाले प्रदेश नम्वर २ मा नयाँ सरकार बनाउने तयारी पनि थालेको स्रोतले बताएको छ ।