धनुषा । धनुषाको छिरेश्वरनाथस्थित महेन्द्रनगर बजार नजिक मध्यरातमा बम विष्फोट भएको छ । बम विस्फोट हुँदा एकै घरका दुई जनाले ज्यान गुमाएका छन् भने घाइते अवस्थामा रहेका प्रहरी निरीक्षक अमिर कुमार दाहालको अहिले बिहान उपचारका क्रममा मृत्यु भएको छ । तिन प्रहरी जना घाइते भएका छन् ।

छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको उत्तरपूर्वको कुचाइ टोल बम विस्फोट भएको हो । विस्फोटमा परी राजेश साह र उनको छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । साहको घर नजिकको पोलमा बम राखिएको थियो । बम गयराति १२ बजे विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धुनषाले जनाएको छ ।

घटनामा साहको १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

घटनाको जिम्मा कसैले लिएको छैन, तथापि मिटरब्याजको कारोबार गर्दै आएका राजेश्वर साहलाई विप्लव नेतृत्वको नेकपाले त्यस्तो अवैध धन्दा नगर्न चेतावनी दिँदै आएको र प्रतिबन्धित नेकपाले नै सो विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ ।