अग्निज्वाला। खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा. २ झ ३५२४ नम्बरको सवारी साधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ ।

गाडीमा भएको आगलागीबारे प्रतिक्रिया दिँदै गापा प्रमुख निरौलाले भने, ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो, उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’

करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले जिल्लाका प्रमुख प्रहरी नायव उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको बताएका छन् ।