काठमाडौं । प्रचण्डले वामदेवलाई प्रधानमन्त्री बनाइदिने !केपी स्वस्थ भएपछि अस्वस्थ खेलको तयारी / कार्यकारी अध्यक्षको पदवी पाएपछि सत्तारुढ नेकपाका नेता प्रचण्ड पार्टी र सरकारलाई आफ्नो नियन्त्रणमा लिने गुप्त गृहकार्यमा जुट्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । समाचारअनुसार प्रचण्ड यतिबेला नेकपा एमालेका केही नेताहरूलाई आफ्नो पक्षमा ल्याएर केपीविरुद्ध बलियो मोर्चा खडा गर्ने अभियानमा लाग्नुभएको छ ।

माधव नेपालप्रति सशङ्कित प्रचण्डले ‘एमाले’का नेताहरू वामदेव गौतम, भीम रावल, सुरेन्द्र पाण्डे र विष्णु पौडेललगायतलाई आफ्नो पक्षमा उभ्याउने कसरत शुरु गर्नुभएको छ । माधव नेपालमाथि भर पर्न नसकिने निष्कर्षमा पुग्नुभएका प्रचण्डले वामदेव गौतम, सुरेन्द्र पाण्डे, भीम रावल र विष्णु पौडेललाई मिलाएपछि आफ्नो मोर्चा बलियो बन्ने ठान्नुभएको छ । महासचिव विष्णु पौडेलले केपीको टिममा रहँदारहँदै पनि आफूलाई सहयोग पु¥याएकोले ईश्वर पोखरेललाई टिममा ल्याएर विष्णु पौडेललाई चिढ्याउने पक्षमा प्रचण्ड नरहनुभएको बुझिन्छ ।

वामदेव गौतम जतिबेला जसका विरुद्ध पनि प्रयोग–उपयोग हुन सक्ने भएकोले केपी ओली र आवश्यक परे माधव नेपालका विरुद्ध समेत प्रयोग गर्न प्रचण्डले उहाँलाई आफ्नो काबुमा लिइसक्नुभएको छ । वामदेवलाई पदीय प्रलोभन दिएर आफ्ना पक्षमा उभ्याउन सकिन्छ भन्ने राम्रोसँग बुझ्नुभएका प्रचण्डले गौतमलाई प्रधानमन्त्री बनाइदिने विश्वास मङ्सिर नलाग्दै दिलाउनुभएको थियो ।

आगामी फागुनको पहिलो साता राष्ट्रिय सभाका डेढ दर्जनभन्दा बढी सदस्यहरूको पद रिक्त हुँदै छ । प्रचण्डले वामदेवलाई राष्ट्रिय सभा सदस्य चयन गरी संविधान संशोधन गरेर प्रधानमन्त्री बनाइदिने वचन दिनुभएको छ । मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिने सचिवालय बैठकमै (मङ्सिर १ गते) प्रचण्डले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउन सकिने किसिमले संविधान संशोधन गर्ने प्रस्ताव राख्नुभएको थियो । प्रचण्डले यस्तो प्रस्ताव ल्याउनुको रहस्य बुझेर पनि केपी ओलीले उक्त प्रस्तावमा असहमति जनाउनुभएको थिएन ।

‘माओवादी’ले ‘एमाले’ खाने कि ‘एमाले’ले ‘माओवादी’ खाने भन्ने यो खेल अन्त्यमा ‘माओवादीले ‘एमाले’ खाएर सकिने हो कि भन्ने सङ्केत देखिन थालेका छन् 

वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्न वामदेवपत्नी तुलसाबाहेक कुनै पनि सांसद तयार हुँदैनन् भन्ने जानकारी प्रचण्डलाई नभएको होइन । तर, यसो गर्दा वामदेव केपीबाट धेरै टाढा तथा आफूसँग निकट बन्ने विश्वासका साथ प्रचण्डले यस्तो खेल शुरु गर्नुभएको हो र यो खेलमा उहाँले एकस्तरको सफलता पनि पाइसक्नुभएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभ गर्नुभएपछि प्रचण्डबाट वामदेवलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन गरी उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टी बैठकमा विधिवत् राखेर निर्णय गराउन प्रयास हुने प्रबल सम्भावना छ । ज्ञातव्य छ, विद्यमान संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाका सदस्य मात्र देशको प्रधानमन्त्री बन्न सक्नेछन् । राष्ट्रिय सभा सदस्यलाई मन्त्री बन्न बन्देज नभए पनि प्रधानमन्त्री बन्न सक्ने संवैधानिक प्रावधान छैन ।

पाँचबुँदे निर्णय (सहमति) अनुसार प्रचण्डले अध्यक्ष केपी ओलीसँगको सहमतिमा मात्र कुनै पनि कदम चाल्न सक्नुहुनेछ । तर, प्रचण्ड केपीको सहमतिबिना नै कार्यकारी अध्यक्षको अभ्यास गर्ने मानसिकता र योजनामा रहनुभएको बुझिन्छ । ओली स्वस्थ हुनुभएपछि ओलीलाई रक्षात्मक बनाउँदै आक्रामक ढङ्गले अघि बढ्ने र आफ्नो स्थिति मजबुत बनाउने प्रचण्डको सोचबारे सम्भवतः केपी ओली अहिलेसम्म अनभिज्ञ हुनुहुन्छ । अहिले केपीको स्वास्थ्यस्थिति कमजोर हुँदै गएको हल्ला प्रचण्डकै क्याम्पबाट चलाइने गरिएको छ र, यस्तो हल्ला चलेसँगै पार्टीका कैयन नेताहरूको प्रचण्डकहाँ लुकिछिपी धाउने क्रम बढेको छ ।

केपीको स्वास्थ्यमा सुधार हुन सकेन भने आफू स्वतः नेकपाको हर्ताकर्ता बन्ने विश्वासमा रहनुभएका प्रचण्ड आफूकहाँ कर्मचारी र नेताहरूको ताँती लाग्न थालेपछि झनै ढुक्क हुनुभएको छ । केपी स्वस्थ भएर काममा फर्कनुभए पनि अब उहाँलाई शान्तसँग काम गर्न दिने मानसिकतामा प्रचण्ड नरहनुभएकोले केपीका निम्ति आगामी दिनहरू सहज देखिएका छैनन् । ‘माओवादी’ले ‘एमाले’ खाने कि ‘एमाले’ले ‘माओवादी’ खाने भन्ने यो खेल अन्त्यमा ‘माओवादीले ‘एमाले’ खाएर सकिने हो कि भन्ने सङ्केत देखिन थालेका छन् । तर, केपीको स्वास्थ्यस्थितिमा भएको सुधारले गति लियो र काममा सक्रिय हुन थाल्नुभयो भने प्रचण्डले ‘पानी पिउनुपर्ने’ अवस्था बन्नेमा शङ्का गर्नुपर्ने छैन ।