काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ‘एनसेल मेला २०७६’ गर्न नदिने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता प्रकाण्डले दुरसञ्चार प्रदायक कम्पनी एनसेलले गर्न लागेको ‘एनसेल मेला २०७६’ गर्न नदिने बताएका छन ।

पार्टी प्रवक्ता प्रकाण्डद्धारा हस्ताक्षरित विज्ञप्तिमा एनसेलले मेला गरे कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ ।’

सरकारद्धारा प्रतिबन्धित नेकपाले एनसेललाई असहयोग गर्न पनि आह्वान गरेको छ । ‘कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ ।

नेकपाले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली जनताको मर्यादालाई उल्लंघन गरेको आरोप पनि लगाएको छ ।