फागुन ६, काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन आयोगले फागुन २१ को मिति प्रस्ताव गरिसकेको छ ।

यदि आयोगले प्रस्ताव गरेको मितिभित्रै राष्ट्रपतिको निर्वाचन गर्ने हो भने वाम गठबन्धनका लागि अब उम्मेदवार चयन गर्न तीन साताको समय पनि छैन । यसवीचमा सांसदहरुको सपथ ग्रहण पनि बाँकी नै छ ।

एमालेले आफ्नो भागमा प्रधानमन्त्री पाइसकेको छ । अब, राष्ट्रपति कसले पाउने भन्ने औपचारिक पावर सेयरिङ भइसकेको छैन । यद्यपि राष्ट्रपति पनि एमालेले नै पाउने र विद्या भण्डारीकै निरन्तरता रहने चर्चा वाम गठबन्धनभित्र सुरु भएको छ ।

माओवादीले अहिलेसम्म औपचारिकरुपमा राष्ट्रपतिको दाबी गरेको छैन । र, यसबारेमा पार्टी एकता संयोजन समितिमा पनि औपचारिक छलफलसम्म नभएको नेताहरु बताउँछन् ।

झलनाथको रहर, विद्याको चलखेल

नेकपा एमालेका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनको बहुमत आएलगत्तै मुखै खोलेर भने- पार्टीले जिम्मा दियो भने राष्ट्रपति बन्न तयार छु ।

इलामबाट चुनाव जिते लगत्तै केपी ओलीको गृहनगर दमकमा पुगेर राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका खनालले त्यसयता लगातार शीतलनिवासप्रतिको मोह प्रकट गरिरहेकै छन् ।

खनालले राष्ट्रपति बन्ने तीब्र इच्छा व्यक्त गरिरहेका बेला यसबीचमा भएका घटनाक्रमहरुले शीतलनिवासमा विद्या भण्डारीकै निरन्तरता हुने बलियो सम्भावना बनिसकेको छ । यसका लागि विद्याले माओवादीलाई समेत फकाउने कूटनीति अघि सारेकी छिन् ।

प्रचण्ड परिवारसँगको रात्रिभोज, सीता दाहाललाई दुःखका बेला दिएको सान्त्वनालाई राष्ट्रपति भण्डारीको सामान्य मानवीय शिष्टाचार मात्रै नभएर चलखेलकै रुपमा कतिपयले बुझेका छन् ।

यो बीचमा प्रचण्डले कतिपय सन्दर्भमा केपी ओलीलाई दबाव दिन राष्ट्रपतिसँग पटक-पटक भेटघाट समेत गरे । वामपन्थी एकताका लागि समेत राष्ट्रपतिले भूमिका निर्वाह गरेको छिपेको छैन । यी सबै घटनाक्रमहरुले राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले निरन्तरता पाउने लगभग निश्चित रहेको माओवादीकै कतिपय नेताहरु बताउँछन् ।

उसोभए राष्ट्रपतिमा झलनाथ खनालको रहरको कुनै अर्थ छैन त ? यो प्रश्नको जवाफ सम्भवतः खनाल आफैंले भेटिसकेका छन् । उनले केपी ओलीबाट सकारात्मक संकेत नपाएरै हुनुपर्छ, पछिल्लो समय ओलीप्रति कटाक्षयुक्त अभिव्यक्तिसमेत दिएका छन् ।

त्यतिमात्र होइन, खनालले राष्ट्रपति भण्डारीको पनि खुलेरै बिरोध गर्दै भनेका छन्- राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनुहुँदैन ।

तीन वर्षअघि बालकोटको त्यो बैठक !

झलनाथ खनाल राष्ट्रपति बन्ने कुनै सम्भावना नरहेको एमालेका एक शीर्षस्थ नेताले बताए । उनले खनाललाई राष्ट्रपति बनाउनुपर्ने आवश्यकता, अवस्था र औचित्य कुनै पनि नरहेकाले उनको लालसा नै बेमौसमी रहेको कठोर प्रतिक्रिया दिए ।

त्यतिमात्र होइन, उनले तीन वर्षअघि झलनाथ खनालको वाक्य बसेको एउटा प्रशंगसमेत सबिस्तार सुनाए-
०७२ असोज ३ गते संविधानसभाबाट नेपालमा संविधान जारी भएपछि डा. रामवरणको ठाउँमा नयाँ राष्ट्रपतिको चुनाव हुने चर्चा चल्यो ।

माओवादीले राष्ट्रपतिमा एमालेलाई सघाउने भएपछि एमालेभित्र राष्ट्रपतिको उम्मेदवार खोज्न थालियो । यसै सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मुख्य नेताहरुलाई बालकोटमा बोलाए ।

बालकोटको त्यो बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, भीम रावल लगायत उपस्थित थिए । त्यहाँ ओलीले राष्ट्रपतिमा कसलाई पठाउने हो, छलफल गरौं भनेपछि माधव नेपाल बोल्न थाले । नेपालले रामपि्रत पासवान, लालबाबु पण्डित र शान्ता चौधरीको नाम लिए ।

नेपालले बोल्दाबोल्दै भीम रावलले झोंक्किएर प्रतिवाद गर्दै भने- तपाईहरु यहाँ राष्ट्रपतिको उम्मेदवार छान्दै हुनुहुन्छ कि भाँडाकुटी खेल्न बसेको हो ? यस्तो संक्रमणकालीन अवस्थाको राष्ट्रपति पार्टीको जिम्मामा आएको छ भने सिनियर नेताबाट राष्ट्रपति बन्नुपर्दैन ? तपाई नेताहरु तयार हुने कि नहुने ?

रावल झोंक्किएपछि त्यो बैठकमा केहीबेर सन्नाटा छायो । त्यसपछि महासचिव ईश्वर पोखरेलले ‘भीमजीले भन्नुभएको ठिकै हो, यस्तो बेलामा राष्ट्रपति बन्न माधव कमरेड किन नजाने ?’ भन्दै प्रश्न गरे । पोखरेलले पूर्वप्रधानमन्त्री भइसकेको र पार्टीको प्रमुख भइसकेको नेता राष्ट्रपति बन्नुपर्ने तर्क गरे ।

माधव नेपालको उमेर पुगेन !

ईश्वर पोखरेलको बोली भुइँमा खस्न नपाउँदै माधव नेपालले ‘म हुन्न, मेरो उमेर पुगेको छैन’ भन्दै पन्छिए । पोखरेलले तत्कालै उनलाई सोधे, तपाई उमेर पुगेको छैन भन्नुहुन्छ, ०६५ सालमा राष्ट्रपति बन्न दौरासुरुवाल लगाएको होइन ? माओवादीले नदिएपछि थच्चिएको होइन ?
पोखरेललाई जवाफ दिँदै नेपालले त्योबेला आफूलाई फसाउन खोजिएको र नहुने अवस्थामा अघि सारिएको आशय व्यक्त गरे ।

राष्ट्रपतिका लागि नेपालले उमेर पुगेको छैन भनेपछि पोखरेलले झलनाथ खनाललाई अफर गरे । ‘माधव कमरेडको उमेर पुगेको छैन रे, लौ जेएन कमरेड, तपाई अघि सर्नुस’ सो बैठकमा पोखरेलले भने ।

तर, झलनाथ खनाल एकशब्द बोलेनन् । खनाल बोल्न नसकेपछि महासचिव पोखरेलले विद्या भण्डारीतिर फर्केर भने- यहाँ एक जनाको उमेर पुगेन, अर्कोजनाको वाक्य बसेको छ । विद्याजी तपाई पार्टीको दुईपटक उपाध्यक्ष भइसकेको, महिला आन्दोलनको नेता हो, राष्ट्रपति बन्नुस् ।

पोखरेलको प्रस्तावमा विद्याले आफूले राष्ट्रपति बन्नेबारे सल्लाह नगरेको र नसोचेको भन्दै समय मागिन् । यस्तै छलफलका बीच त्यो दिनको बैठक सकियो ।

दोस्रोपटक ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्‍यो ।

राष्ट्रपति बन्नका लागि ४५ वर्ष पुग्नुपर्छ । माधव नेपालले राष्ट्रपतिका लागि उमेर पुगेको छैन भन्नुको तात्पर्य अहिले पनि सक्रियतापूर्वक काम गर्न सक्ने भएकाले निश्त्रिmय भूमिकामा नबस्ने बताउन खोजेका थिए । नेता नेपालको जोड पार्टीको अध्यक्ष वा प्रधानमन्त्री बन्नेतिर नै देखिन्थ्यो ।

खनालको वाक्य खुल्न ३ वर्ष लाग्यो

तीन वर्षअघिको त्यो प्रकरण अहिले एमालेमा फेरि उप्किएको छ । खनालले राष्ट्रपति बन्न सबैखाले भावभंगी प्रकट गरेपछि एमालेका एक नेताले सम्झे, ऊबेला बन्द भएको खनालको वाक्य अहिले कसरी फुट्यो ? बेलामा निर्णय गर्न नसक्ने व्यक्ति नेता हुन सक्दैन, झलनाथ खनालका लागि शीतलनिवासको बाटो बन्द भइसकेको छ ।

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रपति बन्नका लागि माओवादीमार्फत पनि लबिङ नगरेका होइनन् । तर, प्रचण्ड स्वयं विद्या भण्डारीको विकल्प खोज्ने पक्षमा नदेखिएको स्रोतले जनाएको छ ।

विद्या भण्डारी र नन्दबहादुर पुन एमाले र माओवादी दुवै पार्टीका संस्थापन पक्षका लागि व्यवस्थापन गर्नैपर्ने बाध्यताका पात्र समेत भएकाले यसपटक राष्ट्रपति र उपराष्ट्रपति फेरिने सम्भावना नरहेको स्रोतको दाबी छ ।

विद्या र नन्दबहादुरकै निरन्तरता ?

सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हो । तर, अहिलेका राष्ट्रपति र उपराष्ट्रपति संक्रमणकालीन समयमा छानिएका हुन् । उनीहरुलाई थप ५ वर्ष बनाउन दुवै नेतृत्वमाथि दबाव छ ।

यसबीचमा विद्याले जसरी प्रचण्ड परिवारसँग भावनात्मक सम्बन्ध बढाएकी छन्, त्यसैगरी नन्दबहादुरले ओलीसँग भेटघाट गरेका छन् ।
राष्ट्रपतिका रुपमा विद्या भण्डारीले वाम गठबन्धनलाई दह्रिलो साथ दिएका कारण पनि खनालको रहर रहरमै सीमित एमाले नेताहरु बताउँछन् । राष्ट्रपति र उपराष्ट्रपति दुवैजनाले निरन्तरता पाउने अनौपचारिक टुंगो लागिसकेको कतिपय एमाले नेताको दाबी छ ।

तेस्रो पात्रको खोजी

अर्को तथ्य के पनि हो भने, राष्ट्रपति नयाँ ल्याउने र त्यो एमालेले नै पाउने अवस्था आएमा त्योबेला ओलीको छनोटमा खनाल होइन, सुवास नेम्वाङ हुने सम्भावना छ । यद्यपि त्यो सम्भावनामाथि अहिले छलफल नभएको एमाले नेताहरु बताउँछन् ।

राष्ट्रपतिमा नयाँ स्वाद महसुस गराउने र जनजातिको छोरोलाई राष्ट्रपति बनाउने हो भने सुवास नेम्वाङ उपयुक्त पात्र हुन सक्ने कतिपय एमाले नेताको तर्क छ । संक्रमणकालको व्यवस्थापनका लागि नेम्वाङ सक्षम पात्र पनि हुन् ।

तथापि गत दशैंका बेला वाम गठबन्धनको तयारी हुँदै गर्दा झलनाथ खनाललाई राष्ट्रपति बनाउने जेन्टलमेन एगि्रमेन्ट भएको दाबी माओवादीका एकजना शीर्षनेताको छ । तर, दक्षिणको छिमेकीलाई खुशी पार्ने हो भने खनाल रोजाइका पात्र हैनन् ।

यो अवस्थामा विद्या भण्डारीले निरन्तरता नपाए खनालको विकल्पमा तेस्रो पात्रको खोजी हुन पनि सक्ने सम्भावना छ ।
तर, राष्ट्रपतिमा पुरुष पात्रलाई लैजाने हो भने उपराष्ट्रपति महिला बनाउनुपर्ने हुन्छ ।

विद्याको विकल्प माधव ?

सूत्रहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्डले माधव कुमार नेपाललाई तपाई राष्ट्रपति बन्ने कि नबन्ने भनेर सोधिसकेका छन् । माधव नेपाल अघि सर्ने हो भने माओवादीले यसमा समर्थन गर्ने अन्यथा विद्यालाई नै दोहोरिन दिने माओवादीको रणनीति छ ।

हुन त एक समय माओवादी नेता रामबहादुर थापा वादल वा नारायणकाजी श्रेष्ठको पनि राष्ट्रपतिका रुपमा चर्चा हुने गरेको थियो । तर, अहिले त्यो चर्चा एकाएक सेलाएको छ ।

गत बुधबार बसेको एकता संयोजन समितिको बैठकमा माधव नेपालले दुई नेताहरुको मात्रै व्यवस्थापन भएर हुँदैन, अरु नेताहरुको पनि हुनुपर्छ भन्ने अडान राखेका थिए ।

यसको अर्थ उनी माओवादीबाट ‘गि्रन सिग्नल’ पाएपछि राष्ट्रपतिका लागि तयार त भएका हैनन् ? यो प्रश्न पनि वाम गठबन्धनभित्र उढ्न थालिसकेको छ 

готовлениеhttpноваяcsvкупить кисть подводкираскрутка сайта