६ वटै प्रदेशमा वामगठबन्धनको दुई तिहाई, प्रदेश २ मा मधेशवादी बहुमतम

म्याग्दीमा सबै सिटमा वामगठबन्धनका उम्मेदवार विजयी भएपछि बेनीमा शुक्रबार निकालिएको विजय जुलस

निर्वाचनका दौरान प्रतिनिधिसभाको मतपरिणाम सर्वत्र चासोको विषय बन्यो। एकैपटक निर्वाचन सम्पन्न भएका कारणपनि यसपटक प्रतिनिधिसभा निर्वाचनको छायाँमा पर्‍यो, प्रदेशसभाको निर्वाचन।

नेपालमा पहिलोपटक अभ्यास भइरहेको प्रदेशसभाको निर्वाचनप्रति मतदाताको अपेक्षित ध्यान जान सकेन। तर, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ। हालसम्म अधिकांस स्थानको परिणाम सार्वजनिक भइसकेको छ भने केहि स्थानको परिणाम आउन बाँकी छ। केन्द्रमा वामगठबन्धनको सरकार बन्ने पक्का भइसकेको छ।

सँगसँगै अनुमान सुरु भएको छ, सात मध्ये कुन प्रदेशमा कसको सरकार बन्ला?

यस्तो छ प्रदेशसभा गठनको प्रकृया
सातवटै प्रदेशबाट प्रत्यक्षतर्फ निर्वाचित ३ सय ३० र समानुपातिकबाट चुनिएका २ सय २० गरी ५ सय ५० जनाको प्रदेशसभा रहने संवैधानिक प्राबधान छ।

संविधानको धारा १७९ मा प्रदेशसभाका सदस्यको सपथ सम्बन्धी व्यवस्था छ। उक्त धारामा प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम प्रदेशप्रमुखबाट शपथ लिनुपर्ने हुन्छ।

तर, अहिलेसम्म प्रदेशप्रमुखको नियुक्ति हुन सकेको छैन। संविधानको धारा १६३ राष्ट्रपतिले प्रदेशप्रमुखको नियुक्ति गर्ने व्यवस्था छ। प्रदेश प्रमुखमात्र होइन अहिलेसम्म प्रदेशसभाको अस्थायी राजधानी, प्रदेशको मुख्य सचिव लगायत कर्मचारी व्यवस्थापनको कामसमेत थाती छ।

संविधान अनुसार प्रदेशप्रमुखले मतपरिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको बैठक आह्वान गर्नेछन्। प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफू मध्येबाट प्रदेश समामुख र उपसभामुखको निर्वाचन गर्नेछन्।

प्रदेशप्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आव्हान गर्नेछन्। प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्। कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्।

प्रदेश सरकार: कहाँ कसको सम्भावना?
प्रदेशसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी भएपनि हालसम्म मत परिणाम सार्वजनिक भएका ३ सय ५ स्थानको परिणामले आगामी प्रदेशसभा गठनमा दलीय हैसियतको चित्र स्पष्ट हुन्छ।

अहिलेसम्म नेकपा (एमाले) ले सबैभन्दा बढि १ सय ५९ स्थानमा जितिसकेको छ भने माओवादी केन्द्र ६६ सिटका साथ दोस्रो स्थानमा छ। नेपाली कांग्रेस ३९, संघीय समाजवादी फोरम २२ र राजपा १४ सिटमा विजयी भएका छन्।

प्रदेश १ः वामको बहुमत
प्रत्यक्षतर्फ प्रदेशसभाका ५६ सिटमध्ये एक नम्बर प्रदेशमा एमालेले ३५ सिट जितिसकेको छ। यस्तै, माओवादी केन्द्रले ९ र नेपाली कांग्रेसले ७ सिट जितेका छन्।

१ नम्बर प्रदेशमा प्रत्यक्षतर्फ एमाले एक्लै बहुमतमा छ। एमाले र माओवादी केन्द्रको सिट संख्या जोड्दा यो संख्या ४४ पुग्छ। यो संख्या दुई तिहाइभन्दा बढी हो। प्रत्यक्षतर्फ पाएको मतको रुझान हेर्दा प्रदेश–१ मा वाम गठबन्धनले सहजै प्रदेश सरकार बनाउनेछ।

प्रदेश २ः मधेसवादी बर्चश्व
देशैभरी वाम गठबन्धनको लहर चलेपनि प्रदेश–२ मा भने वामगठबन्धनको उपस्थिति अन्यत्रको भन्दा कमजोर छ। बरु गठबन्धन बनाएर निर्वाचन लडेका मधेसकेन्द्रित दलहरु संघीय समाजवादी फोरम र राजपाले दुई नम्बर प्रदेशमा बलियो उपस्थिति देखाएका छन्।

यो प्रदेशका ६४ प्रदेशसभा सिटमध्ये हालसम्मको परिणाम अनुसार संघीय समाजवादी फोरम १८, राजपा १४, एमाले १३, कांग्रेस ८ र माओवादी केन्द्र ७ ठाउँमा विजयी भएका छन्। दुई मधेस केन्द्रित दलले अहिलेसम्म ३२ स्थान जितिसकेका छन् भने अझै केही क्षेत्रमा अग्रता छ।

त्यसैले, अहिलेसम्मको प्रत्यक्षतर्फ उनीहरुले पाएको मतको रुझान हेर्दा प्रदेश–२ मा मधेसवादी दलले प्रदेश सरकार बनाउने सम्भावना ज्यादा छ, यदि उनीहरुबीच पनि सरकार गठनमा सहमति भयो भने। वामगठबन्धन २० स्थानमा मात्र विजयी भएका कारण यो प्रदेशमा प्रदेश सरकार उनीहरुलाई सम्भव छैन।

फोरम वा राजपासँगको तालमेल हुन सक्यो भनेमात्र यो प्रदेशमा वामगठबन्धन सहितको संयुक्त सरकार बन्न सक्छ।

प्रदेश ३ः वामगठबन्धनको दुई तिहाई
प्रदेश–३ मा अहिलेसम्म सबैभन्दा बढी एमाले ४१, माओवादी केन्द्र १४ र नेपाली कांग्रेस ७ स्थानमा विजयी भएका छन्। प्रदेशसभा तर्फ ३ नम्बरमा ६६ सिट छन्। यसरी हेर्दा एमाले एक्लै प्रत्यक्षतर्फ बहुमतमा छ। माओवादी केन्द्र समेत जोड्दा उनीहरुको सिटसंख्या ५५ पुग्छ। यो दुई तिहाइभन्दा बढी संख्या हो। नेपाली कांग्रेस जम्माजम्मी ७ स्थानमा मात्र विजयी भएको छ। त्यसैले प्रदेश–३ मा पनि वामशक्ति बलियो शक्तिका रुपमा उदाएको छ।

प्रदेश ४: वाम नै बलिया
प्रदेश–४ मा प्रदेशसभातर्फ प्रत्यक्षमा ३६ सिट छन्। एमाले १५, माओवादी केन्द्र ७ र नेपाली कांग्रेसले ५ सिट जितिसकेका छन्। एमाले एक्लैलाई बहुमत प्राप्त गर्न १ सिटको कमी छ। माओवादी केन्द्रसमेतको साथमा उसको २२ सिट पुग्छ। यो पनि दुई तिहाई नजिकको परिणाम हो। यसले ४ नम्बरमा पनि वामपन्थी गठबन्धननै बलियो रुपमा सरकारको दावेदार देखिन्छ।

प्रदेश ५ः एमाले एक्लै बहुमतमा
प्रदेश–५ मा प्रदेशसभाका ५२ सिट मध्ये एमाले २६, माओवादी केन्द्र १२, नेपाली कांग्रेस ७ र संघीय समाजवादी फोरमले ३ सिट जितेका छन्। प्रत्यक्षतर्फको परिणामलाई हेर्दा एमाले एक्लै बहुमतमा छ। माओवादी केन्द्र समेतको भरथेग हुँदा यहाँपनि वामगठबन्धनको दुई तिहाई पुग्छ। कांग्रेसको ५ र संघीय समाजवादी फोरमको ३ सिट वाम गठबन्धनका सामु कमजोर देखिन्छ।

प्रदेश ६ः यहाँपनि दुई तिहाई
प्रदेश–६ मा प्रत्यक्षतर्फ प्रदेशसभामा २४ सिट छन्। एमाले १४, माओवादी केन्द्र ९ र नेपाली कांग्रेस १ स्थानमा विजयी भएका छन्। यहाँपनि एमाले एक्लै बहुमतमा छ भने वामगठबन्धन दुई तिहाईको हैसियतमा छ। कांग्रेसको स्थिति ६ नम्बरमा दयनीय छ। प्रदेश–६ मा वाम गठबन्धनको सरकार सहजै बन्नेछ।

प्रदेश ७: वामगठबन्धकै दुई तिहाई
प्रदेश–७ मा प्रदेशसभा तर्फ ३२ सिट छन्। यहाँ एमाले १५, माओवादी केन्द्र ८ र नेपाली कांग्रेस ४ स्थानमा विजयी भएका छन्। यहाँपनि कांग्रेस कमजोर अवस्थामा छ भने वाम गठबन्धन दुई तिहाईमा छ।контекстная реклама обучениесоздать sitemap для сайтаfyfkbp cfqnfяндексоаэ без визыМеждународные железнодорожные перевозки