बिप्लपको व्यापक खोजी भएपछि नेकपाले दियो यस्तो चेतावनी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना दुई कार्यकर्ता अझै वेपत्ता भएको जनाएको छ ।

बुधबार विप्लव नेकपाका पूर्वी केन्द्रीय कमाण्डका इन्चार्ज ‘विषम’ द्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत असार १६ गते सोमबार वेपत्ता पारिएका तीन जनामध्ये एक जना सम्पर्कमा आए पनि दुई जना अझै वेपत्ता पारिएको जनाएको छ ।

विप्लव नेकपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “असार १६ गते सोमबार हाम्रो पार्टी नेकपाका कार्यकर्ताहरु संगठन सुदृढ र विस्तार अभियानका क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका-१ मा पुगेका बेला केपी ओलीको नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा बादलको गृह प्रशासनको ठाडो निर्देशनमा तीनवटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरि हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकोहोरो गोली चलाइयो र दोहोरो भीडन्तको हल्ला पिटियो । टोलीका सबै ज्यान जोगाउन सफल भए पनि हालसम्म तीन जना कार्यकर्ताहरु सम्पर्कविहीन भएकोमा एक जना सम्पर्कमा आएको र दुई जना आझै सम्पर्कमा छैनन् ।”

त्यसमध्ये एकजना सुजन अधिकारीलाई गिरफ्तार गरेर प्रहरीले सोही क्षेत्रमा घुमाइरहेको अपुष्ट खबर बाहिर आइरहेको भए पनि आधिकारिक रुपलै अझै पुष्टि नभएकोले दुई जनाको अवस्था अज्ञात नै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर, प्रहरीले भने सोमबार संखुवासभाको सिलिचुङ गाउँपालिका-१ होयाङग्लामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको दाबी गरेको थियो ।  त्यस्तै उक्त विज्ञप्तिमार्फत अहिलेसम्म प्रहरी, सेनामाथि सशस्‍त्र आक्रमण नगर्ने पार्टीको नीतिलाई कहिँ पनि पार्टीले उल्लंघन नगरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “सरकारले निहत्था नेता र कार्यकर्तामाथि दोहोरो भिडन्तको नाममा गिरफ्तारपछि निशंस हत्या गर्ने, गाउँ अप्रेशन गर्ने, घरहरु खानतलासी गर्ने, धरपकड, थुनछेक, झुटा मुद्दामा महिनौँ थुनामा यातना दिनेजस्ता काममा राज्य नै लागिपरेको छ ।”

प्रहरीको गोली लागेर भोजपुरमा विप्लव समूहका कार्यकर्ता तिर्थराज घिमिरे र सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । प्रहरीले दुबै जना दोहोरो भिडन्तमा मारिएको दाबी गरेको छ ।

सोही दिन प्रतिबन्धित विप्लव नेकपाविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसनका लागि सेनाको हेलिकोप्टरमा विशेष फोर्स परिचालन गरेपछि विप्लव नेकपाले दमन रोक्‍न चेतावनी दिएको थियो । सरकारले नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा काठममाडौंबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष फोर्स संखुवासभा पठाएको थियो ।

विप्लव नेकपाले विज्ञप्तिमार्फत सरकारले राज्यलाई द्वन्दको चपेटामा धकेलिरहेको र सकारले आफ्नो पार्टीमाथिको दमन, राज्यआतंक र दमन जारी राख्‍यो भने उक्त कदमविरुद्ध उत्रने र त्यसको जिम्मा सरकारले लिनुपर्ने चेतावनीसमेत दिएको छ । त्यसैगरी उक्त घटनाको सत्यतथ्य छानबिनकोसमेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *