प्रधानमन्त्री रोजगार कार्यक्रमको ३ अर्व : झार उखलेर (बादर लखेटेर) खर्च गरिदैं

एक महिनामा राज्यको ३ अर्व ढुकुटी दुरुपयोग  भएकोछ ।एकवर्षका लागि विनियोजन भएको रकम वर्षको अन्तिम एक महिनामा नै र अझ दुइतीन हप्तामै सकिँदैछ प्रधानमन्त्री रोजगारका नाममा करेसावारीका झारपात उखेल्न लगाएर ३ अर्ब सखाप पारिएको छ ।

यो कार्यक्रम ७७ रै जिल्लामा चलाइयो र अपवादबाहेक सबैतिर नै कतै बाँदर खेद्दै, कतै गाइवस्तु खेदेरै र कतै मकै गोडेर मात्र केही घण्टाका लागि राज्यको ढुकुटीबाट एकजना बराबर ७०० का दरले खर्च भैरहेको छ । यो काम सात सय ५३ वटै स्थानीय तहमा भयो ।

प्रधानमन्त्रीले जेठ २४ गते भक्तपुरको एउटा ठाउँबाट यसको उद्घाटन गरेका थिए । त्यसदिनदेखि सुरुभएको यो कार्यकमका नाममा त्यसको एक सातामै एक अर्व ११ करोड ६० लाख ७६ हजार ५ सय ८५ रुपैया खर्च भैसकेछ ।

चालु वर्षको बजेटमा ३ अर्वको हाराहारीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा रकम विनियोजन भएको थियो । प्रधानमन्त्रीले उद्घाटन गरेपछि देशै भरी त्यसको प्रारम्भ भयो एउटा रमिता नै देखियो रकम कसरी सकिन्छ भन्ने उदाहरण भएर । दूर्गममा मात्र होइन राजधानीमा पनि चित्रहरु त्यस्तै देखिए जस्तो गहनापोखरिका छेउछाउमा झार उखेलिइहिएका दृश्य । यो ३ अर्व रुपैया एकमहिनामा सक्नु पर्ने थियो । सरकारले जेठको तेस्रो हप्ता सात सय ५३ वटा निकायमा रकम निकासा दियो र त्यसलाइ खर्च गर्ने ठाउँ खोज्दैजाँदा कतै करेसावारीमा झार उखेल्ने त कतै बाँदर खेद्ने तथा कतै मकै गोड्ने त कतै नालीका झारपात उखेलेर सडकमा फाल्ने आदि काम फेला पारियो र त्यसैलाई रोजगार मानेर रकम दिइयो । हुँदैजाँदा कामकालागि रोजगारी होइन कि रोजगारीका लागि काम भयो ।

भक्तपुरकै एउटा सडकमा प्रधानमन्त्रीका यी रोजगारले नालीबाट ढुंगा माटो झिकेर बाटामा फाल्ने र यता गाडी वालाले बाटोमा अवरोध भयोभन्दै फेरी त्यही ढुगा माटोलाई त्यही नालिमा फाल्ने जस्ता काम एकहप्तासम्म दोहोरिएको पाइयो  । यो कुनै आरोप होइन स्थलगत रिपोर्ट भएका र तस्वीरले देखाएका बिवरण हुन् । दुरुपयोगका केही नमूना –

एक:

असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौशाला परिसरको झाडी फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिब एक घण्टामै टोली त्यहाँबाट निस्कियो । बेल्चा, हसिया र कोदालो बोकेका ती व्यक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका कामदार थिए । यति कामले उनका एकदिनको हाजिरी बनायो ।

दुइ:

यही तिलोत्तमा नगरपालिकाले असार १ गते तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेको थियो । कार्यक्रमका लागि दुई सय ४७ जना छनौटमा परे पनि दुई सय २६ जना काममा आएको नगरपालिकाले जनायो । ती कामदारलाई असार महिनाभरी गौशाला, वनवाटिका, नगरका केही विद्यालय र ६ लेन सडक किनारको झारपात टिपनटापन र गोडमेलको जिम्मा दिइएको छ । यो नगरमा यसअघि टोल, वडा र नगरव्यापी सरसफाइका कार्यक्रममार्फत ६ लेन तथा भित्रि सडक, बस्ती, स्कुल, पार्क सरसफाइ गरिन्थ्यो । तर अहिले तीनै कामका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा ७० लाखको सरकारी बजेट खर्च गरिँदैछ । आन्तरिक स्रोत तथा आम्दानीबाट सरसफाइ गरिँदै आएको वनवाटिकामा झार गोड्न प्रधानमन्त्री रोजगारको बजेट खन्याइएको छ ।

तीन:

तिलोत्तमास्थित सामुदायिक विद्यालयका एक शिक्षकले आफ्नो विद्यालयमा झार गोड्न भन्दै आएका ती कामदारमा कामप्रति अलिकति पनि लगाव नदेखिएको प्रतिक्रिया दिए । ‘विद्यालय परिसरमा उनीहरुले दुई दिनमा जे काम गरे त्यसको तुलनामा यसअघि समुदायसँग मिलेर गरेका सरसफाइ अभियान कैयौं गुणा प्रभावकारी थिए,’ ती शिक्षकले भने । टोल समुदाय मिलेर गर्दै आएका काममा सरकारी ढुकुटी खर्च गरिनु सरासर गलत भएको उनको भनाइ छ । बुटवल उपमहानगरमा पनि यसअघि स्थानीय टोल विकास संस्थाले गर्दै आएको ६ लेन सडक सरसफाइमा प्रधानमन्त्री रोजगारमा छानिएकालाई खटाइएको छ । बुटवल कालिकानगरमा सडक छेउको फूलबारी गोडमेल गर्दै गरेका महिलाले यसअघि समुदाय मिलेर गरेका कामका लागि तलब पाएको भन्दै खुसी व्यक्त गरिन ।

चार:

प्रधानमन्त्री केपी ओलीले २४ जेठमा कार्यक्रमको उदघाटन गरे । उनले सूर्यविनायक नगरपालिका–५ स्थित सुवर्णचोकदेखि तीनधारासम्मको करिब तीन सय मिटर सडक निर्माणको शुभारम्भ गरे । कार्यक्रम सकेर प्रधानमन्त्री हिँडेलगत्तै श्रममन्त्री गोकर्ण विष्ट, भक्तपुरका सांसद महेश बस्नेत र स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधि र बेरोजगार सूचीमा सूचीकृत भएकाहरू सुरक्षा सामग्री पहिरिएर साबेल लिएर सडक खन्न कस्सिए । तीन सय मिटर सडक खन्न धेरै मान्छे लाइन लागे । एकछिन काम गरेर उनीहरू पनि बाटो लागे । काम थालेको आधा एकघण्टामै उनीहरुको त्यसदिनको हाजिरी पाकिसकेको थियो ।

सूर्यविनायक नगरपालिकाले चार सय ५९ जना बेरोजगारको सूची संकलन गरेको छ । सरकारले बेरोजगारलाई रोजगार दिन भनेर चालू वर्ष ४९ लाख रुपैयाँ दिएको प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । १० वडा रहेको नगरपालिकाले सबै वडामा बढीमा पाँच लाख रुपैयाँ बराबरका सामुदायिक आयोजना सञ्चालनका लागि तयारी गरेको छ । यसको अर्थ हो यो एकमहिना भित्र यहाँ आधाकरोड रुपैया यसरी नै सकिनेछ ।

पाँच:

गुल्मी धुर्कोट गाउँपालिकाले रोजगारी दिएका एक सय ५० जनामध्ये ८१ जनालाई बाटो मर्मतमा लगाएको छ भने अन्यलाई सिँचाइ कुलो मर्मत, विद्यालयका डेस्क, बेन्च र फर्निचर मर्मतमा लगाइएको छ । इस्मा गाउँपालिकाले पनि धेरैलाई बाटो मर्मतमै लगाएको छ । त्यस्तै, मालिका गाउँपालिकाले पनि एक सय २६ जनालाई र सडक तथा सिञ्चाइ मर्मतमै केन्द्रित भएर रोजगारी दिएको प्रवक्ता शोभाखर गिरीले बताए ।

छ:

मुसिकोट नगरपालिकाले एक सय ६९ जनालाई पोखरी निर्माण, चौपारी चिन्ने, वृक्षारोपण, घोडेटो बाटो निर्माणदेखि सरसफाइका योजना अगाडि सारेको छ । मदाने गाउँपालिकाले एक सय ३४ जनालाई नर्सरी व्यवस्थापनदेखि विद्यालयको शिक्षकको समेत रोजगारी प्रदान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले धेरैलाई नर्सरी व्यवस्थापनमा लगाइएको बताएका छन्  ।

सातः

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकम खर्च गर्न इलामका स्थानीय तहहरूले असारमा ज्यालामा काम लगाइ रहेका छन्। सूर्योदय नगरपालिकाले दुईवटा पोखरी र वृक्षरोपण गरिरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाको १४ नम्बर वडा र पशुपतिनगरमा पोखरी बनाउन र गोर्खेको थुम्केमा रूख रोप्न ९५ जनालाई १५ दिनको रोजगार दिइएको वतइएको छ । यस अघि यस्ताकार्यक्रम जनश्रमदानबाट गरिन्थ्योभने यो पटक त्योकाम गर्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत नगरपालिकामा २१ लाख रुपैयाँ खर्च हुदै छ यो असार महिनामामात्रै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *