कालिकोट : सरकारले प्रतिबन्ध लगाएपछि नेकपाको गतिविधि कालिकोटमा झन् बढ्दै गएपछि सबै स्थानीय तहमा प्रहरी टोली पठाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंगलबार राती नरहरीनाथ गाँउपालिकाको कार्यालय स्थानीय जनताहरुले जलाएपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६∕६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए । उनले भने, ‘नेकपाले स्थानीय तहलाई नै लक्षित गरी आगजानी गर्ने जस्ता अपराधिक गतिविधि सुरु गरेकाले त्यसका विरुद्धमा सबै पालिकाहरुमा प्रहरी परिचालन गरेका छौँ ।’

नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ । नेकपाले आफ्नो आधार इलाकाका रुपमा बताउँदै आएको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोटवाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो । नेपाल कम्युनिस्ट पार्टीको दबदबा रहेको भनिएको कालिकोट जिल्लामा प्रहरी र नेकपा कार्यकर्ताबीच जुनसुकै बेला भिडन्त हुने अबस्था सिर्जना भएको छ । आफ्नो आधार क्षेत्र मानिरहेको कालिकोट जिल्लाका सबै गाउँपालिकामा प्रहरीले उपस्थिति जनाउँदै ब्यापक सर्च अपरेशन गरेपछि नेपाल कम्युनिस्ट पार्टी कालीकोट निकै आक्रोशित बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालीकोटका सेक्रेटरी रणदिपले सर्लाही घटना दोहोर्याउने सपना बोकेर प्रहरी गाउँ प्रवेश गरेमा खरानी पार्ने चेतावनी दिएका छन् । कालिकोटको एक विकट गाउँमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै सेक्रेटरी रणदिपले त्यस्तो चेताबनी दिएका हुन् । जिल्लाभित्र भएका केही घटनालाई आधार मानेर प्रहरी गाउँ–गाउँ छिरेर खानतलासी गर्ने, ब्यापक धरपकड गर्ने, जनता आतंकित गर्ने र आफ्ना नेता तथा कार्यकर्ताको प्रहरीले पिछा गर्ने गरेमा आफ्नो पार्टीले प्रतिरोध गर्ने जानकारी दिंदै उनले त्यसकालागि तयार रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । आफुहरुको लडाइँ सेना र पुलिससँग नभएको जिकिर गर्दै नेता रणदिपले देशको ढुकुटी खत्तम पारेर लुट मच्चाउने भ्रस्ट जनप्रतिनिधि र देशका भ्रष्ट दलालहरुबिरुद्धको लडाइँमा साथ दिन सम्पूर्ण सुरक्षाकर्मीसँग अनुरोधसमेत गरे ।

शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न पाउँने अधिकारलाई सरकारले प्रतिबन्ध लगाएकाले आफुहरु बाध्य भएर संघर्षमा जानुपरेको बताउँदै नेता रणदीपले यही संघर्षका क्रममा झुट्ठा मुद्दा लगाएर गिरफ्तार गरिएका नेकपाका नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरे । यदि गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता बिना शर्त रिहा नगरी पार्टी थप शसक्त संघर्षमा जाने चेतावनी दिंदै त्यसबाट उत्पन्न हुने परिणामको भागीदार सरकार स्वंम हुने उनको भनाई थियो ।