नेपाली कांग्रेसका नेता तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई दरबारबाट बिदा गर्न नारायणहिटी दरबारमै पुगेका त्योबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले पूर्वराजालाई दिएको ‘बढी सुविधा’प्रति आपत्ति जनाएका छन् ।

पूर्वगृहमन्त्री सिटौलाले सरकारले पूर्वराजालाई बढी सुविधा दिएका कारण  नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुमा अहिलेसम्म पूर्वराजा बसेको ठाउँमा गएर सलामी गर्ने प्रवृतिप्रति अशन्तुष्टि जनाउँदै सरकारले नै पूर्वराजालाई बढी सुविधा दिएको बताएका छन् । पूर्वराष्ट्रप्रमुखलाई दिइने सुरक्षा पनि रामवरण यादवलाई भन्दा बढी ज्ञानेन्द्रलाई दिइएकोमा सिटौलाको असन्तुष्टि छ ।

समसामयिक राजनीति सन्दर्भमा कुराकानी गर्दै नेता सिटौलाले सरकारका क्रियाकलापका कारण गणतन्त्रप्रति जनताको निराशा बढेको र राष्ट्रपतिलाई पनि सरकारले नै बढी सुविधा दिन खोज्दा संस्था नै विवादमा परेको बताए । राष्ट्रपति आफैंलाई कुनै अधिकार नभएकाले उनलाई विवादमा पार्न नहुने सिटौलाको भनाइ छ ।

कांग्रेसका शीर्षनेता सिटौलाले प्रधानमन्त्री केपी ओलीले काम गर्न नसक्दा विपक्षी दलका नेता शेरवहादुर देउवाको भूमिका पनि कमजोर देखिएको विश्लेषण सुनाए । पछिल्लोपटक संसद बाहिरै रहेका सिटौला सरकार र आफ्नै पार्टी नेपाली कांग्रेसको भूमिकाप्रति पनि सन्तुष्ट छैनन् । उनले कम्युनिस्ट सरकारप्रति जनताको असन्तुष्टिले कांग्रेसलाई फाइदा नहुने समेत प्रष्ट पारे ।

वर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहमा ४ कम्पनी सेनाहरु देखेको तर विप्लवलाई नदेखेको भन्दै सिटौलाले व्यंग्य गरे ।