नेपालमा अहिले ‘भीआइपी’हरुको जीवनी प्रकाशित गर्ने लहर नै चलेको छ । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालबाट सुरु भएको यो लहर पछिल्लो समयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की हुँदै पूर्वआईजीपी अच्युतकृष्ण खरेलसम्म आइपुगेको छ ।

पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको ३८० पृष्ठको आत्मकथा यसैसाता बजारमा आएको छ । यो पुस्तकमा खरेलले तत्कालीन गृहमन्त्री वामदेव गौतमका मानिसले आफूसँग २५ लाख रुपैयाँ मागेको दाबी गरेका छन् । चुनावका बेला विभिन्न व्यापारीहरुबाट उठाएर कांग्रेसलाई ३० लाख र एमालेलाई १० लाख दिएको खरेलको भनाइ छ ।

पुस्तकको २७२ औं पृष्ठमा भनिएको छ- ‘राति करिब ११ बजे फोन आयो । पूर्वडीएसपी नरहरि संग्रौलाले गरेका रहेछन् । उनी मेरै उमेरका हुन् । मेरै टोलबासी, मेरा शुभचिन्तक । उनी एमालेसँग निकट थिए । वामदेवसँग पनि निकट रहेछन् भन्ने थाहा थिएन ।’

पुस्तकमा पूर्वडीएसपी संग्रौलासँगको टेलिफोन सम्वाद उल्लेख गर्दै भनिएको छ-‘एकदुई दिनभित्रै पुलिसमा पहिरो जाँदैछ भन्ने सुनेको छु । ….छिटै २५ लाख तयार गर्नोस् है, होइन भने पुलिसमा पहिरो जान्छ ।’

नेपा-लयले प्रकाशन गरेको खरेलको आत्मकथाभित्र २५ लाख मागिएको भनिए पनि कितावको कभरमा चाहिँ २० लाखको चर्चा गरिएको छ । आत्मकथाको पछिल्लो पानामा भनिएको छ- ‘म तपाईलाई वामदेवकहाँ लगिदिन्छु, तपाई २० लाख तयार पार्नुस् । तपाई नै आइजीपी बन्नुहुन्छ, ग्यारेन्टी ।’

प्रहरी महानिरीक्षकजस्तो सार्वजनिक उच्च ओहोदामा बसेका व्यक्तिले बोलेको, लेखेको वा संकेत गरेको कुरालाई सामान्य मान्न सकिँदैन । यदि तत्कालीन एमालेनिकट भनिएका पूर्वडीएसपी नरहरि संग्रौलाले तत्कालीन आईजीपी खरेलसँग वामदेव गौतमको नाम लिएर २०/२५ लाख रुपैयाँ घुस मागेकै हुन् भने त्यो गम्भीर फौजदारी अपराध हो । यो सामान्य आत्मकथाको विषय मात्रै होइन ।

यसरी घुस माग्ने व्यक्तिलाई खरेलले त्यसबेलै किन कारवाही गरेनन् ? उनी त्यसबेला प्रहरीको उच्च ओहोदामै थिए । तर, घुस मागेकै हो भने यसबारे छानविन नगरेर खरेलले अहिले किताबमा मात्रै किा लेखे ? खरेलको आत्मकथा पढ्दा यस्तो प्रश्न उठ्छ । किनभने, घुस दिनेमात्रै होइन, माग्ने पनि अपराधी नै मानिन्छन् ।

खरेलले आफ्नो पुस्तकमा संग्रौलाले २५ लाख मागेको एक वाक्यमा लेखे पनि यसबारे थप विवरण उल्लेख गरिएको छैन ।

आखिर तत्कालीन आइजीपी खरेलसँग २५ लाख घुस माग्ने पूर्वप्रहरी को थिए भन्ने खरेलले पुस्तकमा खुलाएकै छन् । उनीमाथि छानविन भएर तथ्य पत्ता नलगाउने हो भने यो प्रश्नले वामदेव गौतमलाई समेत लखेटिरहने देखिन्छ ।

शायद यही कारणले हुनुपर्छ, नेकपा नेता गौतमले खरेलको पुस्तक निस्कनासाथ प्रतिक्रिया दिएका छन् । नेता गौतमले खरेलको आत्मकथामाथि टिप्पणी गर्दै भनेका छन्-

‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरें ? २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ । आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झूठो असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?’