काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले संघीय संसदमा नीति तथा कार्यक्रमको छलफलमा नागरिकताको प्रश्न उठाएका छन् । सोमबार संघीय संसदमा नीति तथा कार्यक्रमको छलफलमा ठाकुरले नागरिकता लिन भारतीयको लाइन हुन्छ भन्ने प्रचारको खण्डन गरेका हुन् ।

‘लाइनमा भारतीय हुन्छ तर दिने कुर्सीमा को बसेको हुन्छ’, ठाकुरले प्रश्न गरे, ‘गृह मन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इण्डियनहरू नै हो ? नागरिकता दिनेहरू पनि इण्डियनहरू हो ? उनीहरूले आफ्नो नागरिकलाई चिनिरहेको छैन ?’ उनले नागरिकताको कुरा सुन्नासाथ दम घट्ने बताए । ‘नागरिकताको कुरा सुन्नासाथ दम घट्छ । सास लिने अवस्था हुँदैन । आफ्नै घरमा खेत र खलियानमा हामीले विदेशीको पीडा खेप्नु परिरहेको छ ।

कृपया यस किसिमको प्रश्न उठाउँदा पुरानो ‘माइण्ड’मा प्रश्न उठाउनुपर्छ । यहाँ त ब्रदरका लागि एउटा कानुन छ सिस्टरका लागि एउटा कानुन छ । मधेसीका लागि एउटा कानुन छ,’उनले भने ।  उनले मधेसी जनताले नागरिकता लिन जाँदा भारतीयले लिए भनेर प्रचार गरिएको भन्दै आक्रोश पोखे ।सदनमा ठाकुरले भने, ‘नागरिकताबारे कुरा उठ्दा जहिले पनि भारतीयको लाइन लागेको छ भन्ने सुनिन्छ ।

मधेसीले नागरिकता लिन नहुने हो ? मधेसमा जन्मेकाले भारतीय हुनुपर्ने?’ नीति योजना बने पनि कार्यान्वयन पक्ष भने निक्कै फितलो रहेको दाबी गरे । ‘कागजमा सबै चीज कोरिएको छ । तर केही भएको अनुभुति भएको छैन, ठाकुरले भने ।

उनले जनताबाट निर्वा्चित रेशम चौधरीलाई संसदमा देख्न नपाउनु जनताको अपमान भएको उल्लेख गरे । ठाकुरले भने, ‘अदालतको आडमा गोलीबाट नागरिक मार्ने काम गरेको छ । अदालतको चरित्र र राज्यको चरित्र फरक छैन । हाम्रा लागि अझै अध्यारो युग नै छ । झ्याल ढोका दुवै बन्द छ । यही लोकतन्त्रका लागि संघर्ष गरेको हो र? पटक्कै होइन ।’