आर्थिक वर्ष २०५५/०५६ बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरिरहेका छन् । काठमाडौं र भक्तपुरतर्फको निर्माण भने सकिएको छ ।

समस्या समाधानका लागि प्राधिकरणले गरिरहेको प्रयास पनि सफल भएको छैन । स्थानीयको अवरोधले निर्माणमा अवरोध हुँदा प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलको निरीक्षण गरेका छन् । घिसिङले स्थानीयले मुख्य रुपमा अवरोध गरेको खोकना, बुंमती, चापागाउँ र हरिसिद्धी क्षेत्रमा प्रसारण लाइन निर्माण अवस्थाको जानकारी लिएका थिए ।

‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिंदैन’, घिसिङले भने । ‘स्थानीयले प्रसारण लाइन बनाउन दिंदैनन्, खाडा गरिएका टावर ढालिदिन्छन् अनि कसरी काठमाडौं उपत्यकामा विद्युत आपूर्ति दिने ?प्रसारण लाइन अभावमा ललितपुरमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउँदैछ । ’

यो प्रसारण लाइन निर्माण सम्पन्न भएमा काठमाडौं–ललितपुर र भक्तपुरमा १३२ केभीको प्रसारण लाइनको रिङ बन्ने उल्लेख गर्दै उनले यसबाट विद्युत आपूर्तिको विश्वसनीयता बढ्ने र भोल्टेजको गुणस्तर सुधार हुने बताए । अहिले लितिपुर क्षेत्रमा स्यूचाटार–पाटन–वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।

ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन गर्नु पर्ने, त्यसो नभएमा तारमुनि पर्ने जग्गाको शत्प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति दिनु पर्ने लगायतका माग राख्दै निर्माणमा अवरोध गरेका हुन् । खोकनाका स्थानीयले काठमाडौं–निजगढ फास्ट ट्रयाक, बाहिरी चक्रपथको रुटसँगै र थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन निर्माण गर्नु पर्ने माग गरेका छन् ।

प्राधिकरणले सबस्टेसन निर्माण हुने हरिसिद्धी र टावर रहने स्थानको जग्गा अधिग्रहण गरिसकेको छ । तर, स्थानीयले अधिग्रहण गरेको जग्गामासमेत काम गर्न दिएका छैनन् । प्रसारण तारमुनि पर्ने ९ मिटर दायाँ र ९ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे)मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति भने निर्धारण हुने प्रक्रियामा छ । प्राधिकरणले टावर रहने स्थानको जग्गाको शतप्रतिशत र राइट अफ वेमा पर्ने जग्गाको मूल्यांकन गरिएको रकमको १०–२५ प्रतिशतसम्म मुआब्जा दिँदै आएको छ ।

काठमाडौं र भक्तपुरमा राइट अफ वेमा पर्ने जग्गाका लागि मूल्यांकित रहेको २५ प्रतिशत मुआब्जा वितरण गरिएको थियो । प्रसारण लाइन आयोजनाको ललितपुर पर्ने १४ किलोमिटरमा ५१ वटा टावर खडा गरी तार तान्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । १५ वटा टावर खडा गरिएको छ । तार भने टांगिएको छैन । २८ किलोमिटर प्रसारण लाइन आयोजनाको अनुमानित लागत २ करोड ३० लाख अमेरिकी डलर छ ।

स्थानीयको अवरोधले काम रोकिएपछि प्राधिकरणले आर्थिक वर्ष ०६६/६७ मा ठेक्का तोडेको थियो । टावर निर्माणका सम्पूर्ण उपकरण पुरानै ठेकेदार कम्पनीले आपूर्ति गरिसकेको आयोजना प्रमुख सुनिल महतोले बताए । उनले अवरोध हटेर काम सुरु भएको ६ महिनाभित्रमा निर्माण सकिने अवस्था रहेको बताए ।