आन्तरिक राजस्व कार्यालय ललितपुरले पठाएको कर निर्धारणको पत्र राइड शेयरिङ सेवा प्रदायक कम्पनी टुटलले आइतबार बुझेको छ । कर कार्यालयले केही दिन अघि कर निर्धारणसहित पठाएको पत्र टुटलले बुझेको हो ।

कर कार्यालयले ३ करोड ३९ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर र आयकर तिर्नुपर्ने ठहर गर्दै चार दिन अघि पत्र पठाएको थियो । कर कार्यालयको पत्र आइतबार टुटलले बुझेपछि टुटलले ढिलोमा असार १६ गतेभित्र कर बुझाउनुपर्छ ।

यसैगरी, आन्तरिक राजस्व कार्यालयले अर्को राइड शेयरिङ सेवा प्रदायक पठाओमाथि करिब ३० लाख रुपैयाँ कर निर्धारणको तयारी गरेको छ ।

टुटलले सेवाग्राहीबाट मूल्य अभिवृद्धि कर असुली गरी सरकारलाई नबुझाएको विषय बाहिर आएपछि करले दुवै कम्पनीमाथि छानबिन थालेको थियो । पठाओमाथि मूल्य अभिवृद्धि कर र टुटलमाथि आयकर र मूल्य अभिवृद्धि कर दुवै निर्धारण भएको हो ।