आज बुधबार वैशाख १८ गते अर्थात् मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा मात्र होइन विश्वभरि मनाइँदैछ । पहिला विश्वका सर्वहारावर्गीय पार्टी र सङ्गठनहरूले मात्र अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने गर्दथे । अहिले आएर पुँजीवादी देश र सङ्गठनहरूले पनि यसलाई उत्सवका रूपमा मनाउने गरेका छन् । त्यसैअनुरूप नेपालमा पनि सरकारी तहबाटै यस दिन सार्वजनिक बिदा दिने गरिएको छ ।नेपालको विराटनगरमा विसं २००७ (सन् १९५०) मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । तर विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

यसवर्ष देशभर क्रियाशील ट्रेड युनियनको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को अगुवाइमा सबै मजदुरले एकै थलोमा दिवस मनाउने भएका छन् । श्रमिक दिवसका दिन उपत्यकाका विभिन्न स्थानबाट श्रमिकको जुलुस निकाल्ने तयारी गरिएको छ । विभिन्न स्थानबाट निस्केको जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उता अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल टेड युनियन महासङ्घ (रिफेन), नेकपा (संयुक्त) निकट अखिल नेपाल टे«ड युनियन फेडेरेसन र सीपी मैनालीले नेतृत्व गरेको नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र टे«ड युनियन महासङ्घ (पिकोट) मा आबद्ध मजदुर सङ्गठनहरूले संयुक्त कार्यक्रम आयोजना गरी मजदुर दिवस मनाउँदैछन् ।