अग्निज्वाला डटकम संवाददाता ललितपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले चाहेमा अहिले नै प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने दावी गरेका छन् । फोरम–राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए ।

ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘हामीले चाहने हो भने, त्यहाँ बिभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ ।’

प्रचण्डले सरकारले आगामी नीति तथा कार्यक्रममा तराई मधेसका लागि विशेष प्याकेजको व्यवस्था गर्नेबारे पार्टीमा छलफल भएको जानकारी दिए ।