तत्कालीन माओवादीलाई दमनबाटै तह लगाउने बताएका शेरबहादुर देउवा यतिबेला नेत्रविक्रम चन्द विप्लवसँग वार्ता गर्नुपर्ने बताउन थालेका छन् । तत्कालीन माओवादीले चुनावी प्रयोजनका लागि बनाएको संयुक्त जनमोर्चाले प्रधानमन्त्री देउवालाई ४० सूत्रीय माग राखेको थियो । ती माग कुनै पनि पूरा नहुने अडान देउवाले राखेपछि माओवादी सशस्त्र युद्धमा होमिएको थियो । माओवादीका मागहरुबारे तत्कालीन प्रम देउवा संवेदनशील बनेको भए देश ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु पर्ने थिएन ।

आफूले त्यतिबेला गरेको गल्तीलाई देउवाले यतिबेला महसुस गरेका हुन् कि सरकारविरुद्धको सम्भावित मोर्चामा विप्लवको पनि साथ लिनका लागि वातावरण बनाएका हुन् ? यसको उत्तर कि देउवाले नै दिनुपर्नेछ अथवा त्यसका लागि केही समय कुर्नुपर्नेछ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला देश दौडाहामा छन् । जहाँ पुगे पनि देउवा आजकल सबैभन्दा बढी विप्लवलाई बढी सम्झिन्छन् । आफ्नै पार्टीका रामचन्द्र पौडेल र कोइराला परिवारविरुद्ध अभिव्यक्ति दिंदै हिंडेका देउवाले विप्लवलाई चाहिं किन यति धेरै सम्झिरहेका होलान् भनेर कांग्रेसीहरुबीच चर्चा चलेको छ ।

जहाँ पुगे पनि देउवा आजकल ‘विप्लव समूहलाई चिढ्याएर सरकारले मुलुकमा असुरक्षाको वातावरण सिर्जना गर्न थालेको’ भन्न छुटाउँदैनन् । विप्लवसँग वार्ता र सम्बाद गरेर समस्याको समाधान खोज्नु पर्छ भन्ने देउवाको भनाइ ठीकै होला तर हिजो माओवादीलाई आतङ्ककारी घोषणा गर्ने र टाउकाको मूल्य घोषणा गर्ने शेरबहादुर देउवालाई देश फेरि द्वन्द्वतर्फ नबढोस् भन्ने लागेको हो या सत्ताबाट बाहिरिनु परेको पीडा विप्लवलाई देखाएर सरकारविरुद्ध ओकलेका हुन् ?

देउवाले विगतमा आफूले माओवादीका मागलाई बेवास्ता गरेका कारण मुलुकले क्षति व्यहोर्नु परेको अनुभूत गरेको र त्यसप्रति प्रायश्चित गरेको हो भने विप्लव–समस्या वार्ताबाट गर्नुपर्ने उनको धारणालाई सही मान्न सकिएला । सरकारविरुद्धको मोर्चा बलियो बनाउनका लागि उनले विप्लवलाई बढी सम्झिरहेका हुन् भने त्यो देउवाको कमजोरी मात्र हुनेछ ।