काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएपछि सोमबारसम्म १ सय ३६ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । गत २८ फागुनमा चन्द नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै सरकारले राजनीतिक रूपमै प्रतिबन्ध गरेको थियो । त्यसयता उसका गतिविधिमाथि उच्च निगरानी गर्दै आएको नेपाल प्रहरीले १ सय ३६ नेता–कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि प्रहरीले धमाधम अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा विभिन्न गतिविधिसहित राजनीतिक क्रियाकलापमा संलग्नता देखिएकालाई प्रहरीले मुद्दा चलाएरै कारबाही अघि बढाएको छ भने कुनै पनि गतिविधिमा संलग्नता नदेखिएकालाई भने छाड्न थालेको छ । हालसम्म पक्राउ परेकामध्ये कुनै पनि गतिविधिमा संलग्न नरहेको देखिएपछि प्रहरीले २२ जनालाई छोडिसकेको छ ।राजधानी दैनिकमा खबर छापिएको छ ।