टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त मानिएका निलम्बित सांसद रेशम चौधरीसँगै ११ जनालाई जन्मकैदको फैसला सुनाएसँगै टीकापुरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।सम्भावित प्रदर्शन र झडपलाई लिएर टीकापुरमा थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
जिल्ला अदालत कैलालीको फैसलासँगै टीकापुर आसपासका थारु अगुवाहरु सक्रिय भएको प्रहरीले जानकारी पाएको र सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गर्दै प्रदेश सरकारले थप सुरक्षाकर्मी टीकापुर पठाएको बुझिएको छ ।
जातीय रुपको प्रदर्शन हुनसक्ने अनुमानमा प्रहरीले उच्च सतर्कता अपनाएकोछ ।
आज बिहानैदेखि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । चौधरी समर्थक र ११ जनाको विरुद्ध गरिएको फैसलापछि रुष्ट बनेका थारु समूदायलाई लक्षित गर्दैृ स्थानीय प्रशासनले यस्तो तयारी गरेको हो । स्थानीय थारु समुदायले २०७२ भदौ ७ गते थरुहट राज्यको माग गर्दै प्रदर्शन गरिरहेका थिए । जसका लागि टीकापुर आसपासका थारुहरु टीकापुरमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झडपमा एक जना बालक र ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । त्यसपछि सुरक्षाकर्मीको यातनाबाट शाकिराम चौधरीको मृत्यु भएको थियो ।