काठमाडौं। शुक्रबार राति करिव ८ बजे ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम विष्फोट भएको केही बेरमा काठमाडौंको कमलपोखरी स्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्स भित्र अर्को प्रेसर कुकर बम फेला पर्यो। जसलाई तत्काल नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्यो।त्यही समय आसपास नै कञ्चनपुर र कास्कीमा समेत एनसेलको टावरमा आगजनी भयो । पोखरा महानगरपालिका वडा २७ चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको थियो।

यसै गरी कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं. ४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि आगजनी भयो।

परिचय नखुलेको समूहले जताततै बम विस्फोट गराएको हल्ला फैलिए पछि शुक्रबार रातिबाटै प्रहरीले देशभर सुरक्षा सर्तकता बढाएको छ। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले भने, ‘घटना लगत्तै हामीले सुरक्षा सतर्कता बढाएका छौं। अनि दोषीको खोजी गरि रहेका छौं चाँडै टुंगोमा पुग्छौं।’

घटनामा विप्लव समूहको संलग्नता हुन सक्ने प्रहरी आशंका

सूचनामा चुक्यो सरकार

बम विष्फोट हुँदैछ भन्ने सामान्य आँकलनसम्म गर्न नसक्नु सरकारको कमजोरी हो। सरकारले सूचना संकलनकै लागि राष्ट्रिय अनुसन्धान विभागको ठूलो टोली परिचालन समेत गरेको हुन्छ। नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरीले समेत यस्तो विषयको निगरानी गरि रहेका हुन्छन्। तर एकै पटक बम आतंक फैलाउँदा समेत सूचना थाहा नपाउनु सरकारको ठूलै कमजोरीका रुपमा लिन सकिन्छ।