३० हजारभन्दा बढी मजदुरको रोजगारी गुम्यो

 राजनीतिक अस्थिरता र राज्यको नीतिका कारण एक दशकको अवधिमा सुनसरी–मोरङ औद्योगिक करिडोरका पाँच जुट मिटसहित सयौं उद्योगहरु बन्द भएका छन्।

सो अवधिमा करिडोरमा संचालित तयारी कपडा उत्पादन गर्ने, फलाम, खाद्यान्न, टेक्सटायलसहित सयौं उद्योग बन्द भएका हुन्। एक दशकमै धेरै संख्यामा उद्योग बन्द हुँदा ३० हजारभन्दा बढी मजदुरको रोजगारीसमेत गुमेको छ। 

निर्यातजन्य वस्तु उत्पादन गर्ने कृषि उत्पादनमा आधारित जुट उद्योग तथा तयारी पोसाक र खाद्यान्न तथा टेक्सटायल उद्योग बन्द हुँदा देशको राजस्व र रोजगारीमा यसको असर देखिएको छ। 

करिडोर क्षेत्रमा सञ्चालित तयारी पोसाक उत्पादन गर्ने उद्योग प्रायः बन्द भएका छन्। पाँचवटा जुट उद्योगसहित, फलाम, खाद्यान्न, टेक्सटायल उद्योग बन्द हुँदा समग्र अर्थतन्त्रमा पर्ने असर नकारात्मक हुने मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाको भनाइ छ।

ठूलो लगानीमा सञ्चालनमा आएका गुहेश्वरी, नेपाल जुट मिल, मिक्की जुट मिल, चन्द्रशिव जुट मिल र विराटनगर जुट मिल यस करिडोरमा अहिले सञ्चालनमा छैनन्। विराटनगर जुट मिल केही समयअघि सञ्चालनमा आएको भनिए पनि उत्पादन अझै सुरु भएको छैन। करिडोरमा रहेका ११ वटा जुट मिलमध्ये हाल ५ वटा जुट मिल मात्र सञ्चालनमा रहेको जुट उद्योगी राजकुमार गोल्छा बताउँछन्।

औद्योगिक करिडोर क्षेत्रमा रहेका अशोक टेक्सटाएल, प्रभात टेक्सटाएलसहित दर्जनभन्दा बढी उद्योग बन्द भएका छन्। त्यसैगरी, फलाम उद्योगमा हेटौंडा र स्वदेशी आइरन पनि बन्द भइसकेका छन्। सुनसरीको दुहबीमा ठूलो लगानीमा सञ्चालनमा आएको वंशल इन्डस्ट्रिज पाइप उद्योगसमेत बन्द भएको छ। रुग्ण उद्योगको सूचीमा यस्ता उद्योगलाई राखेर पुनः संचालनमा आउनसके त्यसले औद्योगिक वातावरणलाई सहजतातर्फ फर्काउन सक्ने अध्यक्ष सारडा बताउँछन्।

तयारी पोसाक उत्पादन गर्दै आएका विराटनगर आसपास क्षेत्रका आधा दर्जन उद्योगसमेत बन्द भएका छन्। उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतका अनुसार अम्बे, साङ्ग्रिला इन्टरनेसनल, अमी, जेडी, इजी वेयर, फेसन फेब्रिकजस्ता उद्योग बन्द भएका हुन्। ‘तयारी पोसाक र जुट उद्योगमा धेरै कामदारले रोजगारी पाउँदै आएका थिए, ती उद्योग बन्द हुँदा त्यसको असर झन्डै ३० हजार कामदार र परिवारमा परेको छ,’ उपाध्यक्ष राउतले भने।

कृषिप्रधान देश भनिएको नेपालमा कृषिजन्य वस्तुको उत्पादनमा आएको कमीका कारण कृषिजन्य उद्योगसमेत आयातमुखी बन्नु परेपछि करिडोरमा सञ्चालित यस्ता उद्योगसमेत बन्द हुनेक्रम बढेर गएको छ। तेल तथा चामाल उद्योगको रूपमा स्थापना भएका गोपाल, अम्बिका, जुगल, पशुपति, सेलो, बाबा, अटल, कालिका, नारायण तेलहन उद्योग र हिरा र अच्युतजस्ता ठूला चामल मिल बन्द भइसकेका छन्।

आत्मनिर्भर अर्थतन्त्रको संरक्षक बन्न सक्ने कृषि प्रणाली र यसमा आधारित उद्योग संरक्षणमा सरकार गम्भीर हुनुपर्ने अर्का उद्योगी एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा बताउँछन्।

उद्योग बन्द हुनुका मुख्य कारणको रूपमा बन्द–हड्ताल, श्रमिक आन्दोलन, विद्युत् अभाव, यातायात अवरोधसँगै सरकारी नीतिलाई पनि उद्योगीले लिइने गरेका छन् । सरकारले ल्याएको औद्योगिक नीति उद्योगमैत्री नभएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको भनाइ छ।

भारत र बंगलादेशको तुलनामा नेपालमा उद्योगलाई सरकारी सहयोग नहुनु पनि अर्को कारण उद्योगीले मान्दै आएका छन्। जुट उद्योगलाई सरकारले केही अनुदान दिए पनि भारतले लगाउने ‘एन्टिडम्पिङ डिउटी’का कारण भारतीय उद्योगसँग प्रतिस्पर्धामा जान नसकेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा बताउँछन्।

विगतमा सिमेन्ट, चिनी र खाद्यान्न मिलले जुटका बोरा प्रयोग गर्दै आएका थिए। अहिले प्लास्टिकका बोरा प्रयोगका कारण जुटप्रतिको आकर्षण कम हुँदै गएको देखिएको छ। भारतीय बजारमा समेत जुटका बोरा नेपालबाटै निर्यात हुँदै आएको थियो। तर, अहिले भने भारतमै जुटका बोरा उत्पादन हुन थालेपछि नेपालमा आयात गर्नुपर्ने अवस्थामा पुगेको उद्योगी गोल्छाको भनाइ छ।

अरिहन्त मल्टिफाइबर्सका सञ्चालक उद्योगी गोल्छा अनुसार वातावरणमैत्री जुट उद्योगलाई बचाउन किसानमा जुट खेतीका लागि अनुदानको व्यवस्था सरकारले गर्नुपर्ने बताउँछन्।

италиюботseo оптимизациияндексеэкстремальные туры по мируотправить смс на бесплатно