काठमाडौं  २० माघ– वाम गठबन्धन र मधेसकेन्द्रित दलबीच नजिकिँदै गएको दूरी ‘सैद्धान्तिक सहमति’पछि अविश्वासमा परिणत भएको छ । दुवै पक्षबीच संविधान संशोधन गर्ने सैद्धान्तिक सहमतिपछि लिखित सहमतिपत्रमा हस्ताक्षर हुनै लाग्दा भाँडिएकाले पछिल्लोपटक नजिकिँदै गएको दूरी अविश्वासमा परिणत भएको हो ।


गठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्रका नेताहरू र संघीय समाजवादी फोरम र राजपाका नेताहरूबीच माघको पहिलो साता निर्णायक छलफल भएको थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा तालमेल गर्ने, संविधान संशोधन गर्ने र गठबन्धन सरकार बनाउने गरी भएको छलफल कुन विषयमा संविधान संशोधन गर्ने भन्ने निष्कर्षमा नपुग्दा भाँडिएको हो ।

वार्ता भाँडिएलगत्तै मधेसकेन्द्रित दलले कांग्रेससँग तालमेल गरेर प्रदेश २ मा उम्मेदवार उठाउने समझदारी गरेका थिए । एमालेबाट वाम कार्यदलका नेता सुवास नेम्बाङ, रामबहादुर थापा बादल, नेता अग्नि खरेलसहित कार्यदलका सदस्यहरू तथा मधेसकेन्द्रित दलबाट महन्थ ठाकुरलगायतका नेता छलफलमा सहभागी थिए ।

सैद्धान्तिक सहमति भाँडिएको खुलासा
एमाले नेता अग्नि खरेलले सैद्धान्तिक सहमति भाँडिएको जानकारी दिए । ‘हामीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको बाटोमा बढ्न सक्छौँ भन्ने कुरा मस्यौदामा राखेर समझदारी गर्न सकिन्छ भनेका थियौँ । सैद्धान्तिक सहमति पनि भयो,’ फोरम र राजपासँगको छलफलमा सहभागी नेता खरेलले भने, ‘प्रस्ट पार्न केही लेख्ने कुरा हुँदाहुँदै राष्ट्रिय सभामा कांग्रेससँग तालमेल गर्नुभएकाले उहाँहरूले संविधान संशोधन चाहनुभएको रहेनछ भन्ने प्रस्ट भएको छ ।’

गठबन्धनसँग मिल्दा मात्र संविधान संशोधनको माग पूरा हुनसक्ने तथ्यविपरीत राष्ट्रिय सभा निर्वाचनमा फोरम र राजपा कांग्रेससँग मिलेका कारण प्रश्न उठेको उनको भनाइ छ । ‘जोसँग स्ट्रेन्थ छ, जसले चाहँदा संशोधन हुनसक्छ त्योसँगको कुरालाई निष्कर्षमै नपु¥याई अन्तै किन जानुभो, स्वाभाविक प्रश्न उठेको छ,’ खरेलले भने ।

यस्तो छ मधेसकेन्द्रित दलको अडान
गठबन्धनसँग चलिरहेको पछिल्लो छलफलमा मधेसकेन्द्रित दलले भने राज्य पुनःर्संरचना आयोगको रिपोर्टका आधारमा संविधान संशोधन गर्ने विषयलाई सम्बोधन गर्नुपर्ने अडान राखेका थिए । ‘उहाँहरू माग पूरा गर्न तयार नभएपछि थप छलफलको आवश्यकता देखिएन,’ राजपा नेता महेन्द्र राय यादवले भने, ‘ओलीजी सरकारमै हुँदा उहाँले ननपेपरका रूपमा तयार पार्नुभएको बुँदा पूरा गर्न तयार हुनुभयो भने हामी गठबन्धनमा सामेल भएर सरकारमा पनि सहभागी हुन सक्छौँ ।’

वाम गठबन्धनले भने करिब दुईतिहाइ बहुमत रहेको र पार्टी एकता करिब अन्तिम बिन्दुमा पुगिसकेका कारण मधेशकेन्द्रित दललाई धेरै प्राथमिकतामा राखेको छैन । यद्यपि, कांग्रेसलाई एक्ल्याएर भोलिको दिनका सम्भावित असहजतालाई सरकार बन्नुअगावै सम्बोधन गर्न उनीहरूसँगको छलफललाई पनि गठबन्धनले जारी राखेको छ । गठबन्धनले संविधानअनुसार सीमांकन हेरफेरका लागि संशोधन हुन नसक्ने भएकाले बाँकी विषयमा छलफल जारी राख्न सकिने गरी मधेसकेन्द्रित दलका नेताहरूलाई जवाफ फर्काएका छन् ।

ओलीसँग निरन्तर सम्पर्कमा उपेन्द्र र राजेन्द्र
संविधान संशोधनका लागि सैद्धान्तिक सहमतिले मूर्त रूप लिन नसके पनि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतोलगायतका नेता एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर सम्पर्कमा छन् । ‘यादव र महतो नयाँ सहमति गरेर गठबन्धनमा सहभागी हुने मुडमा देखिनुभएको छ, उहाँहरू ओलीजीसँग मात्र होइन, एमालेका नेताहरूसँग निरन्तर संवादमा देखिनुभएकाले छिट्टै ब्रेकथ्रु हुनसक्ने सम्भावना पनि देखिन्छ,’ एमालेका एक नेताले भने । यादवले यसबीचमै ओलीसँग पटकपटक ‘वन अन वन’ संवाद जारी राखेका छन् ।

नयाँ पत्रिकाबाटдомейнингреклама ходитtranssiberianмаркетингтімберленди чоловічі3d компьютерная томография зубов