आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका अधिकांश कैदी हस्तकलाका सामग्री बनाउन व्यस्त देखिन्छन् ।

कारागारभित्र कैदीले बाँस काट्दै गरेका, डोरी तान्दै गरेका र मुढा बुन्दै गरेको देख्न सकिन्छ । यस्तै सिलाइकटाइ, सुनचाँदीको गहना, झोला र टोपी निर्माण तथा बत्ती कात्दै गरेका पनि हुन्छन् तर अधिकांश भने व्यावसायिक रुपमै मुढा बुन्दै गरेका पाइन्छन् । यहाँको मुढाले स्वदेशका विभिन्न भागका साथै तिव्बतसम्मको बजार फैलाएकाले पछिल्लो समय उत्पादनभन्दा माग बढेपछि पूर्ति गर्न धौधौ पर्ने गरेको छ ।

अघिल्ला अघिल्ला वर्षमा महीनाको तीन हजार मुढा बजारमा जाँदा धानिएको बजार अहिले महीनाको पाँच हजार जाँदा पनि धान्न कठिन भएको कारागारभित्र काम गर्दै आउनुभएका प्रेम सुवेदीले बताए ।

यहाँ उत्पादन भएका मुढा नेपालको पश्चिम क्षेत्रमा बढी मात्रामा जाने गरेको र अहिले झापामा मुढा उत्पादन कम भएसँगै यहाँको कारागारमा बनेका मुढाको माग बढेको उनले बताए । पहिला सामान जाँदैन कि भनेर उत्पादन कम गरिन्थ्यो अहिले माग बढेर उत्पादनले धान्न नसकेको सुवेदीले बताए।

अहिले कारागारमा मुढा बुन्न ३०० जनाले रोजगारी पाइरहेका र उनीहरूमध्ये झण्डै आधाले त्यहीको कमाइले आफ्नो घर खर्च धान्दै आएका छन् । कारागारमा घरेलु उद्योग गर्नेको सङ्ख्या ३७० भएकामा अल्पकालीन र दीर्घकालीन रूपमा मुढा बुन्नकै लागि ३०० भन्दा बढी कैदी प्रयोग हुँदै आएको छ । कारागारमा ६६४ कैदीबन्दी छन् । कारागारका प्रमुख कमलप्रसाद काफ्ले एक कैदीले दैनिक रु ५०० सम्म मुढा बुनेरै कमाउने गरेका छन् भन्छन् ।

अहिले कारागारमा रहेको ज्यान मुद्दा, गैँडाको खाग चोरीपैठारीजस्ता मुद्दाका कैदीले लामो समयसम्म कैद भोग्नुपर्ने र समयको सदुपयोगसँगै परिवार पाल्नकै लागि हस्तकलाको काम गर्ने गरेको उनले जानकारी दिए । मुढा बुन्ने काम गर्ने कैदीले मासिक रु तीन हजार देखि १५ हजारसम्म कमाइ गर्ने गरेका छन् ।

पदमपुरका शिव चौधरी छोरी पढाउन र घर खर्च चलाउनका लागि मुढा बुन्ने गरेको बताए । विसं २०६२ मा गैँडा मुद्दामा कैद भुक्तान गर्न थालेदेखि नै नियमित यही काम गर्दै आएका उनले वृद्ध बुबाआमा, श्रीमती र छोरीको खर्च यहीबाट पु¥याएको उनले बताए । चौधरीले एक महीनामा रु १० हजार कमाउँदै आएका छन् । यस्तै लिलाबहादुर झाडीमगरले पनि मासिक रु सातदेखि आठ हजार मुढा बुनेर कमाइ गर्ने गरेको जानकारी दिँदै छोराहरूको बिहे भइसकेपछि श्रीमतीलाई खर्च पु¥याउनका लागि उनले कारागारमै मुढाको कम्पनी सञ्चालन गरेको सो कम्पनीले दुई महीनामा तीन हजार मुढा बाहिर पठाउने गर्दछ ।

कारागारमा यस्ता पाँच कम्पनीले कैदीलाई ज्यालामा मुढा बनाउन लगाउने गर्दै आएको छ । यहाँ स्थानीय मुढादेखि भान्छाका लागि खानाखाने टेबल सेटसम्मका सामान रु तीन सयदेखि २२ हजारसम्ममा बिक्री हुने गरेको छ । रास