लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।   

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको छ । प्रत्येक नेपाली महिलालाई बिना लैङ्गिक भेदभाव समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायत मौलिक हक प्रत्याभूत गरेको छ । संघ, प्रदेश र स्थानीय तहको निर्वाचनबाट विभिन्न तहको नेतृत्वमा निर्वाचित भएकामध्ये ४१ प्रतिशत महिलाहरु नै छन् । यो दक्षिण एसिया र विश्वकै लागि प्रेरणादायी छ ।’

व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्र नै लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट ग्रसित हुने भएकोले यसका कारकहरूको निर्मूल गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

महिलालाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति रहेको पनि सन्देशमा उल्लेख छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनको परिवार धर्नामा बसेको छ । निर्मलाका बाबु यज्ञराज पन्त मृतक छोरीले न्याय नपाएको भन्दै मानसिक रुपमा विक्षिप्त बनिरहेका छन् । उनलाई उपचारका लागि काठमाडाैं ल्याइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइँदै गर्दा बलात्कारपछि हत्या गरिएकी पन्तले न्याय नपाएको भन्दै उक्त अभियान चलाउनुको कुनै तुक नरहेको कतिपयको बुझाइ छ ।