महाधिवेशन आउन एक वर्षभन्दा बढी समय बाँकी रहँदै नेपाली काङ्ग्रेसको आन्तरिक राजनीतिमा ‘हलचल’ शुरु भएको छ । चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न इच्छुक नेताहरूको सङ्ख्या अधिक भएकोले मात्र नभई आ–आफ्नो ‘स्पेस’ सुरक्षित तुल्याउन भित्रभित्रै टिम बनाउने कसरत शुरु भएपछि हलचल पैदा भएको हो ।

यतिबेला काङ्ग्रेसमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला र गगन थापा चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सोचमा देखिएका छन् । पार्टीमा क्रियाशील गुटमध्ये सभापति शेरबहादुर देउवाको गुट सबैभन्दा बलियो र एकजुट देखिएको छ । देउवाको प्रतिपक्षी समूहमा नेताहरू धेरै भएको, तर रामचन्द्र पौडेललाई अघि लगाएर हिँड्ने मानसिकतामा नेताहरू नभएकोले कसलाई ‘टिमलिडर’ बनाउने भन्ने समस्या देखिएको छ ।

यस्तै समस्याका बीच डा. शेखर कोइराला, डा. रामशरण महत, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र रामचन्द्र पौडेलले आपसी एकताको पहल गरेका छन् । पौडेल पुनः सभापतिको उम्मेदवार बन्न इच्छुक भएको, डा. शशाङ्कले पनि सभापति बन्ने मानसिकता बनाएको र डा. शेखर कोइरालाले झन् तयारी नै गरिसकेको हुँदा यो पक्षबाट सभापतिको उम्मेदवार को बन्ने भन्ने अनिश्चित छ । यद्यपि तयारी र अन्य पक्षहरूको अध्ययन गर्दा सभापति पदमा डा. शेखर कोइरालाले नै उम्मेदवारी दिने सम्भावना अधिक रहेको छ । यसनिम्ति डा. शेखर र गगन थापाबीच समझदारी बनाउने प्रयास भइरहेको छ ।

शेखर सभापति र गगन थापा महामन्त्रीको उम्मेदवार बन्ने गरी टिम मिलाउन पार्टीकै एकथरी नेताहरू लागिपरेका छन् । डा. शशाङ्क कोइरालाले डा. शेखरलाई समर्थन गर्ने सम्भावना बढेर गएको छ, तर डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई शेखरले कसरी विश्वासमा लिन सक्ने हुन्, स्पष्ट हुन सकेको छैन । एउटा गुटको प्रतिनिधित्व शेरबहादुरले गर्ने र अर्कोतर्फबाट शेखर कोइराला अघि सर्ने, तर रामचन्द्र पौडेल, प्रकाशमान र डा. रामशरण महतलगायतले बेग्लै बाटो अवलम्बन गर्ने हो भने त्यस्तो अवस्थामा गगन थापाले सभापतिमा उम्मेदवारी दिए भने उनले बाजी मार्ने अनुमानसमेत अहिले काङ्ग्रेसभित्र गर्न थालिएको छ ।

देउवा ‘प्रतिपक्षी’हरूलाई एकजुट हुन नदिने रणनीतिमा रहेका छन् र अहिलेसम्म एकजुट नभएर ‘प्रतिपक्षी’ले देउवाकै इच्छा पूरा गरिरहेका छन् । आफूलाई सुरक्षित तुल्याउन भइरहेका प्रयासमा यसपटक कृष्ण सिटौला पछि परेका छन् । गगनले साथ छोडिदिएको र देउवा, पौडेल तथा कोइरालाले विश्वास नगरेका कारण सिटौला सङ्कटमा परेका हुन्