बेनी । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गाउँ पुगेर शहीद परिवारलाई भेटेका छन् ।

पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुगेका थिए । तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा भेट्ने अवसर जुरेको हो । पत्नी सीता दाहालको नशासम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरी उपचार गर्न म्याग्दी पुगेका अध्यक्ष प्रचण्ड र कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणमा आएका गृहमन्त्री थापाले शहिद परिवार भेटेर कुराकानी गरेका हुन्