बैतडीको पुर्चौँडी नगरपालिका वडा नम्बर ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा ल्याब असिस्टेन्ट नियुक्त गर्दा आफूलाई छनौटमा नपारेको भन्दै स्थानीय लोकेश भण्डारी र उनका सहयोगीले बिहीबार स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन् । यस बाट गर्भवती महिलालाई समस्या भएको छ ।

चार दिनदेखि स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा नियमित चेकजाँच गर्नुपर्ने गर्भवती र सुत्केरी हुन आउने महिलालाई समस्या भएको स्वास्थ्य चौकीले जनाएको छ ।

वडा नं ९ लाई आगामी आर्थिक वर्षमा घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्ने योजना बनाएको छ । तर, स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा सो लक्ष्य समेत प्रभावित भएको स्वास्थ्य चौकी इन्चार्ज हेमन्त साउँदले बताए ।

इन्चार्ज साउँदले भने, ‘नेपाल सरकारको प्रोटोकल अनुसार गर्भवती महिलाले चार पटक गर्भ जाँच गराउनुपर्ने हुन्छ । तालाबन्दीका कारण गर्भवती महिलाको स्वास्थ्य जाँच पनि रोकिएको छ ।’