काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता तत्काल नहुने भएको छ ।

पार्टी अध्यक्ष ‘प्रचण्ड’को चीन भ्रमण र भ्रमण अघि बसेको सचिवालय बैठकले एकताबारे निर्णय लिने अधिकार २ अध्यक्षलाई दिएको भएपनि दुई अध्यक्षबिच आवश्यक होमवर्क हुन नसकेको नेकपाका नेताहरु बताउँछन् ।

यति मात्र नभएर  एकता कार्यदलहरुहरुले आफ्नो कामको प्रतिवेदनसमेत केन्द्रमा बुझाउन सकेको छैन । र धेरैजसो जनवर्गिय संगठनहरुको प्रतिवेदन समेत आएको छैन ।

एकताका लागी गठित कार्यदलको प्रतिवेदन नहेरिकन दुई अध्यक्षले समेत निर्णय गर्ने अवस्था नभएको नेकपाका एक नेता बताउँछन् ।

अर्कोतिर पूर्व एमाले र माओवादी केन्द्रका पूर्व समुहहरुबिच समेत कैंयन सिफारिशहरुमा विमति रहेकाले दुई अध्यक्षहरुलाई निर्णय लिन सजिलो अवस्था छैन ।

एकतामा आएको ढिलाईका कारण पार्टी कामहरु ठप्प जस्तै छन् भने सरकारमा पनि गतिशिलता आउन सकिरहेको छैन ।

साताव्यपी चीन भ्रमणबाट अध्यक्ष प्रचण्ड फर्किएलगत्तै अर्थात अशोज ६ गते प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिका भ्रमणमा निस्कने छन् । उनी अशोजको १६ गते फर्कने कार्यक्रम रहेको उनको सचिवालय बताउँछ ।

तत्कालिन अवस्था लाई  हेर्ने हो भने नेकपाका बाँकी एकता दशैं आसपास वा दशै पछिका लागी धकेलिएको छ ।