भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। एक दर्जनभन्दा बढी ठाउँमा यसको सुपरस्टोर छ। त्यही मध्येको एक कलंकीमा एक जनाको ग्राहकले सपिङ गर्दाको अनुभवबाट तपाईँलाई सचेत गराउँन चाहान्छौ।हाम्रो कुनै पूर्वाग्रह होईन । सचिन सल्लाह दिन्छौ।

राति सपिङ गर्ने क्रममा सामान लिँदालिँदै २५ थोक पुगेछ। स्टोर बन्द हुने बेला भइसकेको थियो। काउन्टरमा बसेकी कर्मचारीले एक-एक गर्दै सबै साामानको कोड रिडिङ गर्दै कम्प्युटरमा इन्ट्री गर्दै बिल निकालिन्- ११ हजार ४ सय ८९ रुपैयाँ ९६ पैसा।

ग्राहक ले डेबिट कार्डबाट भुक्तान गरे  र सामान लिएर निस्किए।  घर पुगेर बिल हेर्दा पो झसङ्ग भए।

बिलको २५ औँ नम्बरमा ४ हजार ८ सय ८४ रुपैयाँ ९६ पैसाको सामान रहेछ। एउटाको ४०७ रुपैयाँ पर्ने सामान १२ वटा के लिएछौँ भनेर अचम्मै लागेछ। नाम चेक गर्दा थाहा भयो त्यो त शिशाको गिलास पो रहेछ।

यो गिलास ६ वटा भएको सेटको ४०७ रुपैयाँ ८ पैसा मूल्य हुनुपर्नेमा उसले त एउटाकै ४०७ रुपैयाँ इन्ट्री गर्दै छ/छ वटाको दुई सेटको १२ वटा बनाउँदै ४ हजार ८ सय ८४ रुपैयाँ बिल बनाएको रहेछ।

अर्थात् दुई सेटको ८१४ रुपैयाँ १६ पैसा हुनुपर्नेमा ४ हजार ७० रुपैयाँ ८० पैसा पो बढी बिल गरेको रहेछ।

भोलिपल्ट त्यहाँको अफिसमा फोन गर्दा बिल र सामान लिएर आउनुस् भनियो। साँझतिर त्यहाँ पुग्दा गल्ती भएको स्वीकार गरे उनीहरुले। यहाँसम्म त ठीकै थियो। अचम्म त के लाग्यो भने उनीहरुको गल्तीको सिकार हामी उपभोक्ता हुनुपर्ने रे। गल्ती हो, स्वीकार पनि भइसक्यो। तर त्यो उनीहरुले बढी लिएको रकम फिर्ता भने दिन मिल्दैन रे। त्यति नै रकमको सामान अरु लिइदिनुस् न रे। लानुपर्ने जति सामान हिजै लगिसकियो, अब के लाने? यसो भन्दा पनि भएन। उनीहरुको हिसाब मिल्दैन पो भन्न थाले।

गल्ती  स्वीकारे पनि  फेरि ग्राहकलाई नै त्यो गल्तीको भार बोकाउनु पर्ने के खालको नियम होला ? यस्तो नियमले  भाटभटेनी प्रतिको विश्वास कायम रहन्छ कि रहन्न ?