प्रचण्डको भारत भ्रमण उनी स्वयम्ले अपेक्षा गरेकोभन्दा ‘भव्य र सफल’ भएको छ । औपचारिक घोषणा नगरिए पनि प्रचण्डलाई ‘स्टेट भिजिट’सरहको सम्मान दिइएको नयाँदिल्लीस्थित समाचार सूत्रहरूले जनाएका छन् । कुनै पनि पूर्वप्रधानमन्त्रीहरूलाई दिने गरिएकोभन्दा ज्यादा सम्मान र महत्व यसपटक प्रचण्डले पाए । नेकपाको अध्यक्षका हैसियतले होला उनलाई यस पटक ठुलो सम्मान पायको।

उनी भदौ २१ गते नयाँदिल्ली पुगेर २४ गते नेपाल फर्किएका हुन्, नयाँदिल्लीमा रहँदा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री राजनाथसिंहलगायतका उच्च तहका नेता, नेपाल मामिलाका जानकार तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । प्रचण्डलाई त्यहाँ भावी प्रधानमन्त्रीका रूपमा लिइएको थियो र, उनले पनि भारतीय नेता तथा अन्य उच्चाधिकारीहरूसँगको भेटमा दुई वर्षपछि केपी ओलीले आफूलाई पद हस्तान्तरण गर्ने सम्झौता भएको जानकारी गराएका थिए ।

भारतको प्रसिद्ध दैनिक हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा समेत केपी ओलीले दुई वर्षपछि आफूलाई पद हस्तान्तरण गर्ने सहमति भएको र सहमतिबमोजिम पद हस्तान्तरण नगरे के गर्ने हो त्यतिबेलै निर्णय लिने भनी प्रचण्डले चेतावनीको भाषा प्रकट गरेका छन् । प्रचण्डले भारतीय नेता र उच्चाधिकारीहरूसँगको भेटवार्ताका क्रममा आफू भारत भ्रमणमा रहेको बेला पारेर केपी ओलीले ‘सैन्य अभ्यासमा सहभागी नहुने’ र ‘चीनको बन्दरगाह प्रयोग गर्न पाउनेसम्बन्धी निर्णय लिएकोमा’ असन्तुष्टि प्रकट गरेका थिए ।

प्रचण्डले आफ्नो भारत भ्रमणलाई प्रभावित गर्न र भारतसँगको आफ्नो समझदारीलाई भ्रमित गर्नका निम्ति सैन्य अभ्यास र चिनियाँ बन्दरगाहसम्बन्धी केपी ओलीले निर्णय लिएको जिकिर गरेका थिए । प्रचण्डले ‘आफू भएको भए यसप्रकारका निर्णय नहुने’ इम्प्रेसन पनि भारतीय संस्थापनलाई दिएका छन् । र, भारतले प्रचण्डलाई फेरि एकपटक विश्वास गरेको देखिएको छ ।

एक सूत्रले जनाएअनुसार प्रचण्ड र उपेन्द्र यादवबीच पनि नयाँदिल्लीमा विशेष भेटवार्ता भएको थियो ।  यादव प्रचण्डसँगको विशेष वार्तालापका लागि दिल्लीमा बसेका थिए र उनी प्रचण्ड फर्किएकै दिन दिल्लीबाट काठमाडौं फर्किएका हुन् । उपेन्द्र यादवलाई नेकपामा सामेल गराउन प्रचण्डले विशेष जोडबल लगाउँदै आएका छन् । एकलौटी पार्टी अध्यक्ष पद प्राप्त गर्न र कदाचित पार्टी विभाजन गर्नुपर्ने अवस्थामा उपेन्द्र यादव सहयोगी बन्न सक्ने भएकोले प्रचण्डले यादवसँगको पार्टी एकतालाई उच्च प्राथमिकतामा राखेको बताइन्छ ।