काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्री हेरफेर गर्ने तयारीमा छन् ।

सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी आलोचना भएपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरूको हेरफेर गर्ने तयारी भएको हो ।

ने क पाका अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच समीक्षा सुरु भएको जानकारी दिएका छन् । ‘हामी दुई अध्यक्षले सरकार र पार्टी एकताको गम्भीर रूपमा समीक्षा गर्न सुरु गरेका छौं, पार्टी, जनता र देशको भविष्यका लागि केही कडा कदम चाल्नुपर्ने हुन्छ ।’

आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरूसँग भेट गर्दै दाहालले भने । अध्यक्ष दाहालले जरुरी पर्दा कडा नै कदम चलाउनुपर्छ भन्ने सम्मको दुई अध्यक्षका बीचमा छलफल भएको समेत जानकारी गराए । विकास, समृद्धि तथा जनताका लागि राम्रो काम गर्न नसक्ने जुन मन्त्री पनि फेरिन सक्ने उनकोे संकेत थियो । ‘यो मन्त्री या त्यो मन्त्रीलाई नचलाउ भन्नेमा हामी छैनौं, जनतालाई निराश पार्ने र पार्टीलाई असफल पार्ने भएमा स्ट्रोङ कदम चाल्छौं,’ उनले भने ।

नतिजा दिन नसक्ने पूर्वएमाले र पूर्वमाओवादी केन्द्र दुवैतर्फका केही मन्त्री हेरफेर हुन सक्ने दाहालको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले मन्त्रीहरूको समीक्षा सकेसँगै सोही निर्णयअनुसार पार्टी बैठकमा छलफलबाट सरकारको समीक्षा र पार्टी एकता टुंग्याउने तयारी छ