क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो

यूभेन्ट्सले इटालियन सिरी ए मा शनिबार राति पर्मालाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार तेस्रो जित हात पार्यो।

तर, यसै सिजनमा रियल म्याड्रिडबाट क्लबसँग अनुबन्धित भएका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने तेस्रो खेलमा पनि गोलविहिन रहे।

खेलको दोस्रो मिनेटमा नै मारियो मान्डुजुकिकले साविकको विजेता यूभेन्ट्सका लागि पहिलो गोल गरेका थिए।

जवाफ फर्काउने क्रममा पर्माका ग्रिर्भिन्होले ३३ औं मिनेटमा बराबरी गोल फर्काए। दोस्रो हाफमा ब्लासे मातौडीले निर्णायक गोल गर्दै क्लबलाई तीन अंक दिलाएका थिए।

यूभेन्ट्सका समर्थकहरु भने तेस्रो खेलमा पनि रोनाल्डोको गोल हेर्न नपाउँदा निराश बनेका छन्। पहिलो हाफमा उनले प्रहार गरेको शक्तिशाली हेडर भने गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो।

यूभेन्ट्समा आएयता रोनाल्डोले यस सिजनमा २३ मौका पाएपनि गोलविहिन छन्। यूरोपको उच्च डिभिजनका खेलमा यति धेरै मौका पाएर पनि गोल गर्न नसक्ने उनी एक्ला खेलाडी हुन्।