आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएका छन् । नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको हो । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

आजै डाक्टरहरुले नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेको संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले जानकारी दिए । उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय भएको छ ।

सरकारले डाक्टरलाई अपराधी र ज्यानमाराजस्तो व्यवहार गर्न खोजेको बताउँदै यो वातावरणमा काम गर्न नसकिने नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्की बताउँछन् । भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।