बाजपेयीको एउटा कवितालाई कतिपयले कुटनीतिक रुपमा यसरी पनि अथ्र्याउने गरेका छन्– भारतले छिमेकीको तुलनामा ठूलो नसम्झोस्, ठूलो हुँ भन्ने दम्भको आधारमा रुखो व्यवहार नगरोस्।

शुक्रबार बिमस्टेक सम्मेलन समापनपछि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा भारतीय सहयोगमा निर्मित धर्मशालाको उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘भारतका पूर्व प्रधानमन्त्री, राजनेता एवं कवि स्व. अटलबिहारी बाजपेयीको स्मृतिमा उहाँको कविता संग्रह मेरी इक्यावन कविताएँलाई नेपालीमा अनुवाद गरी प्रकाशन गरिने छ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शनिबार बिहान आफ्नो फेसबुक पेजमा ओलीको प्रत्युत्तर भारतीय समकक्षीले कसरी दिएका थिए भन्ने उल्लेख गरेका छन्। अर्यालका अनुसार मोदीले भनेका थिए, ‘असल छिमेकीले बाजपेयीप्रति ज्ञापन गर्ने योभन्दा ठूलो श्रद्धाञ्जली अरू हुँदैन।’

यसै महिना निधन ९३ बर्षको उमेरमा निधन भएका भारतका पूर्व प्रधानमन्त्री बाजपेयी कुशल वक्तामात्र थिएनन्, कविता लेखनमा पनि उत्तिकै पारंगत थिए। भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक आरोहमा बाजपेयीको पनि निकै ठूलो योगदान थियो। राजनीतिक जीवनका कठिन मोडहरुमा बाजपेयीले नै मोदीलाई साथ दिएका थिए, अविभावकले झैं।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, शुक्रबार बिमस्टेक सम्मेलनको औपचारिक समापनपछि सम्मेलन स्थल होटल सोल्टीमा नेपाल–भारतबीच द्विपक्षीय कुराकानी सुरु भयो। बाजपेयीले लोकतन्त्रमा पुर्याएको योगदानको चर्चा गर्दै ओलीले उनीप्रति श्रद्धाञ्जली अर्पण त्यही पुस्तकबाट सुरु गरेका थिए।

‘बाजपेयी भारत र भातीय जनताका लागि मात्र आदर्श पात्र हुनुहुन्थेन, समग्र विश्वको लोकतान्त्रिक आन्दोलनका लागि आदर्श हुनुहुन्थ्यो, उहाँको निधनमा तपाईंहरु जति दुखी हुनुहुन्छ, हामीपनि उत्तिकै दुखी छौँ’, ओलीले भनेका थिए, ‘उहाँको निधनमा हामी नेपाली तपाईँ र समस्त भारतीय जनताप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं।’

नेपाल-भारत द्विपक्षीय वार्ता नेपाल-भारत द्विपक्षीय वार्ता

यति भन्दै ओलीले बाजपेयीप्रति श्रद्धाञ्जली स्वरुप सो कविता संग्रह नेपालीमा अनुवाद गरेर प्रकाशित गरिने जानकारी गराएका थिए। मोदीले पशुपतिनाथ परिसरमा ओलीलाई जे जवाफ दिए, सोल्टी होटलको त्यो द्विपक्षीय वार्तामा पनि उही जवाफ दिएका थिए। अर्थात्, ‘असल छिमेकीले बाजपेयीप्रति ज्ञापन गर्ने योभन्दा ठूलो श्रद्धाञ्जली अरू हुँदैन।’

बाजपेयीको सो बहुचर्चित कविता संग्रह २८ कार्तिक २०५५ मा दिल्लीमा लोकार्पण भएको थियो। लोकार्पण कार्यक्रममा पूर्व भारतीय प्रधानमन्त्री पीबी नरसिँह राव र भारतका सुविख्यात कवि शिवमंगल सिँह ‘सुमन’ समेत उपस्थित थिए। कविता संग्रहमा संग्रहित केही कवितामा बाजपेयीले नेपालका केही सम्पदाको नाम पनि उल्लेख गरेका छन्।

दिल्लीको किताबघर प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहको एउटा कविता यस्तो छः

मेरा प्रभु
मलाई यति धेरै उचाई कहिल्यै नदिनू
ताकि होचोसँग गला मिलाउन नसकूँ 
यति रुखोपन
कहिल्यै नदिनू

राजनीतिज्ञ बाजपेयीको यो कवितालाई कतिपयले कुटनीतिक रुपमा यसरी पनि अथ्र्याउने गरेका छन्– भारतले छिमेकीको तुलनामा ठूलो नसम्झोस्, ठूलो हुँ भन्ने दम्भको आधारमा रुखो व्यवहार नगरोस्। 

के ओलीले बाजपेयीको यही पुस्तक नेपालीमा अनुवाद गर्ने बताएर मोदीलाई त्यस्तो सन्देश पनि दिन खोजेका थिए? 

बाजपेयीको पुस्तकमा उनको भाषणको एउटा अंशपनि छ, जसलाई उनले प्रतिकात्मक रुपले नेपालसँग भावनात्मक सम्बन्ध दर्शाएका छन्। भारतलाई ‘ज्यूँदो जाग्दो राष्ट्रपुरुष’ को रुपमा उल्लेख गर्दै नेपालको गौरीशंकर हिमाललाई भारतको शिर मानेका छन्ः

भारत जमिनको टुक्रा हैन, ज्यूँदो जाग्दो राष्ट्रपुरुष हो 
हिमालय यसको निधार हो, गौरीशंकर टीका हो 
कश्मिर घाँटी हो, पञ्जाब र बंगाल दुई विशाल काँध हो 
पश्चिमी घाट दुई विशाल जाँघ हो, कन्याकुमारी पाउ हो

सल्लाहकार अर्यालका अनुसार यसरी नेपाल र आफ्ना साना छिमेकीहरुलाई माया गर्ने कविता र भावना संग्रहित भएकाले ओली बाजपेयीको सो कविता संग्रह नेपालीमा अनुवाद गरी छाप्ने निष्कर्षमा पुगेका हुन्।