१२ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन् ।

म्यानमारबाट नेपाल भ्रमण गर्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् भने बिम्स्टेकको पनि पहिलो पाहुना हुन् । सन् १९७७ मा म्यानमारका अध्यक्ष (सेना प्रमुख) जनरल ने वीनको नेपाल भ्रमणपछि म्यानमारबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

म्यानमारका राष्ट्रपति मिन्टको यो भ्रमणलाई नेपालले औपचारिक सद्भाव भ्रमणको रुपमा समेत अगाडि बढाएको छ । मिन्ट बिम्स्टेकको सम्मेलनका लागि नेपाल आउने पहिलो विदेशी भीभीआईपीसमेत हुन् ।

उनी आज दिउसो २ः४५ मा त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए ।