रियल मड्रिडले स्टार खेलाडी भित्राउनुपर्ने भन्दै खेल समर्थकहरुले सामाजिक संजालमा चर्को आवज उठाएका छन्।

क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाडेपछि स्टार खेलाडीको खाँचो भएको खेल समर्थहरुले क्लबमाथि स्टार खेलाडी भित्र्याउन दबाब बढाएका हुन्।

गतहप्ता यूइएफए सुपर कप फाइनलमा एथ्लेटिको मड्रिडसँग हारेपछि रुष्ट रहेका रियलका समर्थकहरुले रोनाल्डोको अनुपस्थितीमा मड्रिडमा एक लिडरको खाँचो जरुरी भएको बताउँदै स्टार खेलाडीको अनुपस्थितिमा यस सिजन मड्रिड महत्वपूर्ण उपाधि समेत जित्न विमुख हुने खतरा आंैल्याइरहेका छन्।

वेल्सका ग्यारेथ बेल र फ्रान्सका करिम बेन्जेमामाथि यतिबेला मड्रिडलाई उद्धारगर्ने जिम्मा रहेको छ। उनीहरुसँगै मार्को ओन्सियो, इस्को, भिनिसियस जुनियरले समेत राम्रो प्रदर्शन गर्ने क्लबको अपेक्षा छ।
यद्यपी वर्तमान विश्वमा स्टार कहलिएका ब्राजिलियन नेमार तथा फ्रान्सेली विश्वकप विजेता एमबाप्पेजस्ता खेलाडी ल्याउनुपर्ने माग समर्थकहरुले गरेका छन्।

स्पेनिस कम्पनी ‘फुल अन नेट’ले मड्रिडका समर्थकहरुको प्रतिक्रियाहरुमा आधारित रहेर गरेको एक अध्ययनका क्रममा ८२.७३ प्रतिशतले नेमार र एमबाप्पेलाई क्लबमा ल्याउनुपर्ने माग गरेका छन्। उनीहरुको स्टार खेलाडीको उपस्थिती नभए क्लवले राम्रो गर्न नसक्ने तर्क छ।

मड्रिडले यस सिजन गोल रक्षक थियाबो कोर्ट्वा सहित, एन्ड्री लुनिन, अल्भारो ओड्रियोजोला, भिनिसियस जुनियर अनुबन्ध गरेको छ। तर, ५५.३४ प्रतिशत समर्थकले भने यस अनुबन्धबाट मड्रिडलाई कुनै फाइदा नपुग्ने बताएका छन्।

यद्यपी ५ प्रतिशत मड्रिड समर्थकले भने मड्रिड बलियो टोली भएको बताएका छन्। गत सिजनपछि मड्रिडबाट प्रशिक्षक जिनेदिन जिदान र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लवबाट विदा लिए। नयाँ प्रशिक्षक जुलेन लोपेटजीले मड्रिड यतिबेला निकै फर्ममा रहेको बताएका छन्।