डा बाबुराम भट्टराई

डा बाबुराम भट्टराई

नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईको घर रहेको गोरखाको पालुङटार नगरपालिका र पर्यटकीय स्थलको रुपमा रहेको तनहुँको बन्दीपुर नगरपालिकाको सीमा जोडिएको छ। त्यही बन्दीपुरमा भट्टराई नेतृत्वको नयाँशक्तिले १-२ भदौमा प्रदेश-४ स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्‍यो। तर, आफ्नै गृह प्रदेश भएपनि डा भट्टराई त्यो प्रशिक्षण कार्यक्रममा सहभागी भएनन्।

नयाँशक्तिले ७-८ भदौमा प्रदेश-१ मा यस्तै प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ, जहाँ प्रदेश-१ अन्तर्गतका सबै जिल्लाबाट ७-७ जना दरले अगुवा कार्यकर्ता सहभागी हुनेछन्। तर, त्यहाँ पनि डा भट्टराई उपस्थित हुने छैनन्। १२-१३ भदौमा दाङमा हुने प्रदेश-५ र ६, १४-१५ मा धनगढीमा हुने प्रदेश-७ र २८-२९ भदौमा जनकपुरमा हुने प्रदेश-२ स्तरीय प्रशिक्षण कार्यक्रममा पनि सहभागी हुने योजना डा भट्टराईको छैन।

बन्दीपुर प्रशिक्षण बन्दीपुर प्रशिक्षण

तर, प्रदेश-३ बाहेक बाँकी ६ वटा प्रदेशमा भट्टराई विना नै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडा बताउँछन्। ‘१-२ भदौमा काठमाडौँमा भएको प्रदेश-३ स्तरीय प्रशिक्षणमा चाहिँ भट्टराई सहभागी हुनुभयो’ खतिवडा भन्छन्, ‘बाँकी प्रदेशमा चाहिँ उहाँविना नै प्रशिक्षण कार्यक्रमको योजना बनाएका छौँ।’

नयाँशक्तिलाई अहिलेपनि डा भट्टराईकै पार्टीको रुपमा चिनिन्छ। जनमत र संगठन दुबैमा निकै कमजोर भएपनि पार्टीमा जोजति आबद्ध छन्, अधिकांस डा भट्टराईकै व्यक्तित्वको आकर्षणका कारण आवद्ध छन्। तर, त्यही नयाँशक्तिको प्रशिक्षण विभाग चाहिँ यतिबेला डा भट्टराई विना नै देशव्यापी रुपमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालनको योजना बनाइरहेको छ।

खासमा नयाँशक्ति र डा भट्टराईलाई एक अर्काेको पर्याय बनाउँदा संगठन विस्तारमा नकरात्मक प्रभाव परेको र पार्टीभित्र नेतृत्व विकास हुन नसकेको विश्लेषणपछि डा भट्टराई विनाको देशव्यापी प्रशिक्षण गरेको हो। पार्टी प्रचार विभाग प्रमुख विश्वदीप पाण्डे भन्छन्, ‘बैकल्पिक नेतृत्व नहुँदा जनताले हाम्रो पार्टीलाई नयाँशक्ति भनेर होइन, बाबुरामको पार्टीमात्र भनेर चिने, त्यसैले बैकल्पिक नेतृत्व तयार पार्नका लागि उहाँ विनाको प्रशिक्षण आयोजना गरिएको हो।’

दुई बर्षअघि औपचारिक घोषणा गरिँदा डा भट्टराईप्रतिको भरोशा र विश्वासका कारण पार्टीप्रति आकर्षण बढेको थियो। त्यही आकर्षणका कारण रामेश्वर खनाल जस्ता हस्तीहरु नयाँशक्तिमा आवद्ध भएका थिए। रामचन्द्र झा, देबेन्द्र पौडेल, रामकुमार शर्मा जस्ता स्थापित एमाओवादीका नेताहरु पनि पार्टीमा आवद्ध हुन पुगेका थिए। तर, स्थानीय तह निर्वाचनमा पार्टीको शर्मनाक पराजयपछि उनीहरु पार्टीबाट बाहिरिए, माओवादी केन्द्रमा नै फर्के।

खनालपनि लामो समय पार्टीमा रहन सकेनन्। पूर्व माओवादी पृष्ठभूमिका नेताहरु माओवादी केन्द्रमा फर्कनु र अर्का आकर्षक बौद्धिक व्यक्तित्व खनालले पार्टी परित्याग गरेपछि पार्टीमा भट्टराई पछिको नेतृत्वको संकट देखिन थाल्यो। कांग्रेससँगको तालमेलका कारणमात्र गोर्खामा डा भट्टराईले प्रतिनिधि सभामा विजय हासिल गरे। गोर्खा र रसुवामा गरी एक-एक सिटमात्र प्रदेश सभामा नयाँ शक्तिले विजय हासिल गर्‍यो। चुनावमा कमजोर प्रदर्शनको एउटा कारण पार्टीभित्र स्थापित नेतृत्वको पंक्ति नहुनु पनि थियो।

नयाँशक्तिबाट प्रतिनिधि सभा निर्वाचनमा भट्टराईले मात्र विजय हासिल गरेनयाँशक्तिबाट प्रतिनिधि सभा निर्वाचनमा भट्टराईले मात्र विजय हासिल गरे

त्यो अभाव पूर्तिका लागि नयाँशक्तिले ७ सदस्यीय हेडक्वार्टर निर्माण गरेको छ, जसमा हिसिला यमी, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ, परशुराम खापुङ, प्रशान्त सिँह र नबराज सुवेदी छन्। संयोजक भट्टराईले यो पंक्तिलाई आफूपछिको नेतृत्वका लागि तयार पार्न खोज्दैछन्। र, केन्द्रीय स्तरबाट हुन लागेको प्रदेश स्तरीय कार्यक्रममा यही पंक्तिले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनेछ।

प्रदेशस्तरीय कार्यक्रममा दर्शनशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, संगठनात्मक सिद्धान्त, प्रचार रणनीति र व्यवस्थापन एबं नेतृत्व विकास सम्बन्धमा हेडक्वार्टरमा रहेका उपरोक्त नेताहरुले प्रशिक्षण दिनेछन्। प्रत्येक जिल्लाबाट ७-७ जनाको प्रतिनिधित्व हुने, ७ वटै विषयमा प्रशिक्षण दिने भएकाले प्रत्येक व्यक्ति प्रशिक्षण दिइएको एउटा विषयमा पोख्त हुनेछ। प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडा जिल्ला तहमा समेत नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रम राखिएको बताउँछन्।

‘यसअघि डा भट्टराई लामो समय युरोप भ्रमणमा रहनु भयो, फेरि अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ, संसदको काम समेत भएकाले प्रशिक्षणका लागि उहाँले समय दिनसक्ने स्थिति छैन’ खतिवडाले नेपालखबरसँग भने, ‘प्रशिक्षण अरु नेताहरुले सञ्चालन गर्दा पार्टीमा अरु पनि सक्षम नेताहरु छन् है भन्ने सन्देश दिनपनि सकिने भएकाले उहाँको अनुपस्थितिमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो।’