काठमाडौं माघ ६

 माघ २४ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि वामगठबन्धन र नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) संघीय समाजवादी फोरमसंग तालमेलका लागि प्रयास थालेका छन्। कांग्रेसले राष्ट्रियसभाको निर्वाचनका विषयमा राजपासँग एक चरण छलफल नै गरिसकेको छ।

३० पुसमा बसेको वामगठबन्धनको संयुक्त कार्यदलले पनि राष्ट्रियसभा निर्वाचनका लागि राजपा, संघीय समाजवादी फोरम लगायतका दलसँग छलफल अगाडि बढाउने निर्णय गरेको थियो। तर, उसले कांग्रेसले जसरी औपचारिक छलफल भने सुरु गरेको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ पुषमा प्रदेश– २ र ३ मा क्रमश फोरम र राजपाका नेताहरुलाई प्रदेश प्रमुखमा छनोट गरेर राष्ट्रियसभाको निर्वाचनमा आफूसँग नजिक्याउने प्रयास थालेको छ। वामगठबन्धन र नेपाली कांग्रेसले मधेश केन्द्रित यी दुई दलसँग तालमेलको प्रयास गरेपनि उनीहरुले कोसँग तालमेल गर्ने भन्ने औपचारिक निर्णय गरिसकेका छैनन्।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राष्ट्रियसभा निर्वाचनमा अनुकुलताका हिसाबले तालमेल गरिने बताए। ‘फोरमसँग त तालमेल गरिहाल्छौं, बाँकीसँग जहाँ अनुकुल र सुविधा हुन्छ, उसैसँग तालमेल गर्छौं’ महतोले भने, ‘तालमेल गर्दा हाम्रा लागि कोहीपनि अछुत छैनन्।’

महतोका भनाईमा, राजपाले नेपाली कांग्रेससँग एक चरण छलफल भइसकेको छ। तर, वाम गठबन्धनसँग भने राष्ट्रियसभा निर्वाचनको विषयलाई लिएर कुनै छलफल भएको छैन। उनले थपे, ‘जो हामीप्रति उदार हुन्छ, हामीपनि उप्रति उदार हुन्छौं र तालमेलपनि उसैसँग हुन्छ।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सबैसँग तालमेलको ढोका खुल्ला राखिएको बताए। ‘सबैलाई समान रुपले तालमेलको ढोका खुला राखेका छौं, कुनै एकसँगमात्रै तालमेल गर्नुपर्छ भन्ने हाम्रो मत छैन’ उनले भने, ‘मुख्य रुपमा हाम्रो एजेण्डा र मुद्दा कसले सुन्छ तालमेल उसैसँग हुन्छ।’

राजपासँग जसरी फोरमसँग चाहिँ कांग्रेसले कुराकानी गरिसकेको रहेनछ। जस्तो कि, यादवले नेपालखबरसँग भने, ‘कांग्रेसको बैठक चल्दैछ, वाम गठबन्धन पनि आन्तरिक काममै व्यस्त थियो। त्यसैले अहिलेसम्म कसैसँग छलफल चलेको छैन, अब चाहिँ छलफल सुरु गर्छाैं।’

प्रदेश–२ को सभामा एक्लाएक्लै कसैको पनि बहुमत छैन। तर राजपा र फोरमले जोसँग तालमेल गर्छन्, जित उसैको हुने अवस्था छ। त्यसैले यो प्रदेशमा राष्ट्रिय सभाका ८ सिटमा आफ्नो स्वामित्व खोज्न र अन्य प्रदेशमा रहेका राजपा र संघीय फोरमका मतदाताको भरथेगका लागि गठबन्धन र कांग्रेसले तालमेलको पहल शुरु गरेका हुन्।

जस्तो कि, यो प्रदेशमा नेपाली कांग्रेसका मतदाताको मतभार २ हजार २ सय ६२ रहेको छ। स्थानीय तहमा ७५ र प्रदेशसभामा १९ जना कांग्रेसका मतदाता रहनेछन्।

यस्तै, स्थानीय तहमा ३७ र प्रदेशमा २१ जना मतदाता रहेको एमालेको कुल मतभार १ हजार ६ सय ७४ छ।

संघीय समाजवादी फोरमका स्थानीय तहमा ५१ र प्रदेशसभामा २९ उम्मेदवार रहेका छन्, जसको कुल मतभार २ हजार ३ सय १० हुन्छ।

स्थानीय तहमा ५५ र प्रदेशसभामा २५ मतदाता रहेको राष्ट्रिय जनता पार्टीको मतभार २ हजार १ सय ९० छ।

यस्तै, स्थानीय तहमा माओवादी केन्द्रका ४५ र प्रदेशमा ११ मतदाता रहेका छन्, उनीहरुको मतभार १ हजार ३ सय ३८ हुन्छ।

राष्ट्रियसभामा कुल ५९ मध्ये प्रत्यक्ष निर्वाचनबाट ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रदेशसभाका सांसद, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख र उपप्रमुखले राष्ट्रियसभा गठनका लागि मतदान गर्न पाउँछन्।

स्थानीय तहका जनप्रतिनिधिले दिने मतको भार १८ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको छ।

कांग्रेस नेता एवं बाणिज्यमन्त्री मिनबहादुर विश्वकर्माका अनुसार, कांग्रेस केन्द्रीय समितिको बैठकमा राजपा, संघीय फोरम लगायत दलहरुसँग अधिकतम सहमति गरेर जानुपर्ने धारणा अधिकांस केन्द्रीय सदस्यहरुले राखेका छन्। मन्त्री विश्वकर्माले भने, ‘केन्द्रीय समितिमा उठेको यो मत अनुसार पार्टीले निर्णय लिनेछ।’

кухню2018youtubeделовойкупить посуду для индукционных плитпластика задней стенки влагалища