सोल्टी हाेटल माथिबाट जहाज उडाउन नपाइने

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन सुरु हुन १० दिन बाँकी रहँदा सरकारले चावहिल–बौद्ध–जोरपाटी–गोकर्ण सडक सुधारको प्रयास थालेको छ।

बिमस्टेक सम्मेलनमा आउने अति विशिष्ठ पाहुनालाई गोकर्ण भिलेज रिसोर्टमा दिइने रात्री भोजका लैजान बाटो रातारात बनाउन ताकेता थालेको हो। यसअघिको योजनाअनुसार पाहुनालाई होटल सोल्टीबाट विमानस्थल ल्याएर सेनाको एमआई १७ हेलिकोप्टरमा गोकर्ण रिसोर्ट लैजाने तयारी थियो।

तर यसो गर्दा सरकारको चौतर्फी आलोचना हुने भएपछि बाटोे बनाउन थालिएको हो। यद्यपि, सुरक्षा अधिकारीहरुले १० दिनमा बन्ने बाटोमा विशिष्ठ पाहुना सहितको कारगेट चलाउन मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा चौतर्फी विश्लेषण गरेर मात्र भन्न सकिने जानकारी सरकारलाई दिएका छन्।

नेपाल आउने शीर्षस्थ पाहुनाहरुका लागि गोकर्ण फरेष्ट रिसाेर्टमा रिट्रिटको तयारी गरे पनि त्यहाँसम्म पुग्ने बाटोको दुरावस्थाका कारण हेलिकोप्टर प्रयोगको योजना बनाइएको हो। बिमस्टेक बैठक अगावै सडकको स्तरोन्नतिका लागि आईतबार (३ भदौ) मन्त्री रघुवीर महासेठ आफैँ सो क्षेत्रमा क्षेत्रमा पुगेका थिए।

मन्त्री महासेठले १० दिनको समयसीमामा बाटोको अवस्था सुधार हुने बताए पनि सुरक्षा अधिकारीले हेलिकोप्टरको प्रयोग नै उचित हुने सल्लाह दिएका छन्। ‘फिल्डमा जाँदा मन्त्री महासेठले १० दिनमा कामचलाउ बाटो बनाउन सकिन्छ कि सकिन्न भनेर सोध्नुभएको थियो’ बिमस्टेकको सुरक्षा प्रवन्धमा खटिएका एक अधिकारीले भने, ‘सम्भव नभएर हेलिकोप्टर प्रयोग गर्न सुझाव दिएका छौँ।’

ती अधिकारीका अनुसार, हतारमा मर्मत गरिएको सडकले सात राष्ट्रका प्रमुख र उनका परिवारका सदस्यहरुले प्रयोग गर्ने कारगेट धान्न मुस्किल छ। नेपाल आयोजक रहेको बिमस्टेकको चौथो शिखर सम्मेलनको दोस्रो दिन १५ भदौमा रिट्रिटको कार्यक्रम राखिएको छ।

‘पाहुना बस्ने होटल सोल्टीबाट विमानस्थल र त्यहाँबाट सेनाको हेलिकोप्टरमा गोकर्ण लैजाने तालिकाअनुसार तयारी भइरहेको छ’ स्रोतले भन्यो, ‘सडक मर्मत भएर आवस्यक सुरक्षा अभ्यास गरिएपछिमात्र स्थलमार्ग प्रयोग हुनेछ।’

ती अधिकारीका अनुसार, प्रतिघण्टा ६० किलोमिटर भन्दा गतिमा हुइँकिने सवारी कारगेटको बाटोमा कुनै अवरोध हुनु हुँदैन। ‘रिट्रिट अगावै कम्तिमा पनि तीन पटक अभ्यास हुनेछ’, नाम बताउन नचाहने ती अधिकारीले भने,  ‘यसका लागि ११ भदौसम्म पूर्णरुपमा सो सडक खण्डको मर्मत भइसक्नु पर्ने हुन्छ।’

‘रिट्रिट स्थल नै परिवर्तन गर्ने कि हेलिकोप्टर प्रयोग गर्ने भन्ने सरकारले निर्णय गर्ने कुरा हो’ ती अधिकारीले नेपालखबरसँग भने, ‘समयमै बाटो बनेछ भने कारगेडका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न हामी तयार छौँ।’ बिमस्टेकमा सहभागी हुन ७ सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख परिवार सहित भदौं १३ गते नेपाल आउँदैछन्।

हालसम्म शिखर सम्मेलनमा भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारको तर्फबाट राष्ट्रपति विन मिन्ट र थाईल्याण्डको तर्फबाट प्रधानमन्त्री प्रयुत चा ओ चाले आफ्नो देशको नेतृत्व गर्ने तय भइसकेको छ।

यसैगरी बंगलादेशको तर्फबाट प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाबाट राष्ट्रपति मैथिरीपाला सिरीसेनाले बिमस्टेकमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नेछन्। 

भुटानबाट राष्ट्रप्रमुख वा प्रधानमन्त्री कसको सहभागिता हुने हो, त्यो यकिन भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

सोल्टीको आकाश प्रतिबन्धित

सरकारले बिमस्टेकको बैठक र पाहुनाका लागि आवासको व्यवस्था सम्मेलनस्थल होटल सोल्टीमा नै गरेको छ। नेपालबाहेक सम्मेलनमा सदस्य राष्ट्रको नेतृत्व गर्ने ७ राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आवस्यक सुइट रहेकाले बसोबासको प्रबन्ध पनि त्यहीँ गरिएको हो।

सुरक्षा व्यवस्था मध्यनजर गर्दै सरकारले शिखर सम्मेलन अवधिभरका लागि होटल सोल्टीको आकाश मार्गमा रोक लगाउने तयारी गरेको छ।

सुरक्षा स्रोतका अनुसार १३–१६ भदौसम्म सोल्टी होटलको आकाश भएर साना–ठुला विमानहरुले उडान गर्न पाउने छैनन्। ‘भारत, श्रीलंका र बंगलादेशका राष्ट्रप्रमुख र सरकार प्रमुखको सुरक्षा सम्बेदनशीलता अनुसार सुरक्षा प्रवन्ध मिलाएका छौँ’ नेपाली सेनाका एक अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार सुरक्षा गतिविधि निर्धारित हुनेछन्।’

ती अधिकारीका अनुसार, सरकारले अति विशिष्ठ ब्यक्तिका लागि सुरक्षा प्रबन्ध निर्देशिका अनुसारको सुरक्षा व्यवस्था हुनेछ। त्यस अनुसार, विशिष्ठ पाहुनाको ब्यक्तिगत, बैठक स्थल र आवासस्थलको सुरक्षा नेपाली सेनाले गर्नेछ। तर, भित्री तहमा पनि नेपाली सेना नै रहनेछ। बाहिरी तहमा भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिनेछन्।

‘प्रारम्भिक सूचनाका आधारमा प्रारम्भिक सुरक्षा योजना तयार पारिसकिएको छ’ ती अधिकारीले भने, ‘अन्तिम समयमा सुरक्षाको पूर्ण योजना बन्ला, हामी त्यसै अनुसार सुरक्षा प्रबन्ध गर्नेछौँ।’ 

कमाण्ड सेन्टर सोल्टीमा

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको सुरक्षा बेस होटल सोल्टीमा राख्ने तयारी भइरहेको छ। सम्भावित सुरक्षा खतराको बिश्लेषण अनुसार कमाण्ड सेन्टरको निर्माण हुन लागेको हो। सुरक्षा अधिकारीले प्रविधिको अत्याधिक प्रयोग गर्दै विशिष्ठ पाहुनाको सुरक्षा गर्नेछन्। पाहुना र उनका परिवारका सदस्य (फस्ट लेडी) लाई सैनिक पाश्र्ववर्ती उपलब्ध हुनेछ।

यस्तै उनीहरु चढ्नका लागि बुलेटप्रुफ सवारी साधनको व्यवस्था गरिनेछ। नेपाल प्रहरीले टेलिफोनको फ्रिक्वेन्सीमा अबरोध गर्ने ‘जामर’ सहितको कारगेटको सुरक्षा गर्नेछ। यस्तै अग्ला घर र स्थानहरुमा सशस्त्र प्रहरीहरु बस्नेछन्। कारगेटको सुरक्षामा समेत सशस्त्र प्रहरी खटिनेछ।

लुम्बिनीमा समेत तयारी

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी जाने बिषयमा नेपाललाई आधिकारीक जानकारी आएको छैन। तर उनले लुम्बिनी भ्रमण समेत गर्न सक्ने अनुमान नेपाली अधिकारीहरुले गरेका छन्। लुम्बिनी जान चाहने पाहुनाको चाहना बमोजिम लुम्बिनी भ्रमणको प्रबन्ध समेत सरकारले गरेको छ। त्यसै अनुसार लुम्बिनीको सुरक्षा बिश्लेषणसहित योजना समेत तयार गरिँदैछ। 

स्रोतका अनुसार, आइतबार (३ भदौ) सम्म भुटान र म्यानमारको तर्फबाट बिमस्टेकमा सहभागिता जनाउने पाुहनाले लुम्बिनीको भ्रमण गर्ने जानकारी दिएका छन्।