रामेछाप, ३१ साउन – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताएका छन् ।नेपालमा राजसंस्थाको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दोरम्बामा वीर शहीदहरुले गरेको वलिदान बिर्सन नसकिने उनले बताए ।

दोरम्बालाई युद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भन्दै उनले शहीदहरुले देखाएको बाटोमा नेपाल कम्युनिस्ट पार्टी सधैं लागि रहने बताए । उनले दोरम्बा हत्या काण्ड तत्कालीन दरबारको ठाडो इशारामा भएको समेत आरोप लगाए ।

कार्यक्रममा दोरम्बा घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रचण्डले सम्मानसमेत गरेका थिए । २०६० साल साउन ३२ गते युद्धविराम भएको बेला तत्कालीन राज्य पक्षले माओवादी पार्टीको बैठक भइरहेको स्थानमा घेरा हाली २ जनाको घटनास्थलमा नै र १९ जनालाई घटनास्थलबाट १ घण्टा टाढा लगि गोली हानी हत्या गरेको थियो ।

सो घटनामा माओवादीका जिल्ला जनसरकार प्रमुख सहित जिल्लाका उच्च नेताहरुसमेत मारिएका थिए ।