, ३० साउन – नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सिभिल अस्पतालमा भोगेको दुव्र्यवहार सार्वजनिक गरेकी छन् । उनलाई रिपोर्ट लिन जाँदा त्यहाँकी एकजना महिला कर्मचारीले झर्को फर्को मान्दै रिपोर्ट नदिएको खुलासा गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘सिभिल अस्पताल मिन भवनको एक्स रे को रिपोर्ट दिने ठाउँमा ऐले ४:३० बजे(हिजो दिउँसो) देखि म उभिएकी छु रिपोर्ट लिन, कोही मान्छे थिएन, यि बहिनी(फोटो देखाउँदै) आउँदा करीव ५:०३ भएको थियो, हिजोको हो, एक्स रे गरेको रिपोर्ट दिनु न भन्दा ५ बज्यो भोली आउनुस् भन्दै झर्को फर्को गरीन । करीव १५/२० मिनेट उभिए यिनले दिईनन । म फर्के’नेपालका अस्पतालमा माननीयले यस्ताे व्यवहार सहनुपरेकाे छ भने तपाइ हामी सर्वसाधारकाे हालत के हाेला सहजै अनुमान लगाउन सकिन्छ । यो त एउटा प्रतिनिधिमूलक उदाहरण मात्रै हो । उनीजस्ता धेरै सर्वसाधारणले यस्तो पीडा भोगेका छन् । स्वास्थ्य जाँच गराएवापत आफ्नो हैसियतभन्दा कयौं गुणा बढी रकम तिरेर सम्मानका साथ स्वास्थ्य जाँच गराउन पुगेका नेपालीलाई अधिकांश अस्पतालका कर्मचारीको व्यवहारले अपमानित बन्नु परेको छ ।

नेपालका सबै अस्पतालमा जनताले कस्तो सुविधा पाउँदै आएका छन् त्यो हामी सबैले अनुमान गरेकै कुरा हो । सरकारी तथा प्राइभेट अस्पतालका कर्मचारीले विरामी र विरामीका आफन्तसँग कस्तो व्यवहार गर्छन सँधै अस्पतालमा जाने विरामी कुरुवा र तिनका आफन्तले भोगेकै छन् । उनीहरु सबैसँग व्यक्त गर्न सक्दैनन् । केही विरामीका आफन्तहरु भने सहनै सक्दैनन् र मनमनै बरबराउँछन्, ‘ अस्पतालमा हामी निमुखा जनताले कहिले सम्मानपूर्वक  सेवा पाउने ?’

नेपालका अस्पतालहरुमा जहाँ भए पनि नागरिकले सम्मानपूर्वक सेवा पाउन नसकेको उदाहरण हामी माझ थुप्रै छन् । जिम्मेवार निकायले यस्ता अस्पतालहरुमा अनुगमन गरेर स्वास्थ्य सेवा सहुलियतदरमा पाउने व्यवस्था गरे सुनमा सुगन्ध हुने थियो कि ?