अब कहाँ रुन्छ कांग्रेस? संसद ऊ बिना पनि चल्यो ।

चुनाव प्रचारको बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले एउटा कुरा भाषणमा भनेका थिए- कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन।त्यतिबेला मान्छेले निकै खिल्ली उडाए उनको कुराको। तर नभन्दै देउवाले भने जस्तै कांग्रेसले अब रुनका लागि संसद पनि नपाउने भएको छ

यतिन्जेल प्रमुख प्रतिपक्षी दलका सांसदहरु उठेमात्र भने पनि संसद अवरुद्ध भएको मानिन्थ्यो र संसदको कारबाही अघि बढ्दैन थियो। दोस्रो जनआन्दोलनपछिको संविधान सभा र संसदमा यस्तो अभ्यास भएको थियो। तर बिहीबारदेखि सभामुख कृष्णबहादुर महराले यसलाई तोडिदिए। कांग्रेसका सांसदहरु उभिँदा उभिँदै पनि महराले धमाधम विषयगत समितिका सांसदहरुको नाम पढिदिए। त्यतिमात्र हैन

त्यतिमात्र हैन, कांग्रेसका सबै सांसदहरु सदन बहिस्कार गरेर बाहिरिँदा पनि महराले संसद रोकेनन्। उनले बीमा विधेयक पेश गर्न अर्थमन्त्रीलाई अघि बढ्नुस् भने। संसदको बाँकी कारबाही प्रमुख प्रतिपक्षी बिना पनि चलिरह्यो।

विषय भने खास ठूलो थिएन। गृहमन्त्रीसित प्रश्न सोध्न पाउनु पर्ने कांग्रेसको माग थियो। कांग्रेसले संसदको नियमावलीको एउटा दफा देखाउने, सभामुख अर्कै दफा देखाउने। सभामुखले पेलेरै लैजाने नीति लिएपछि पहिलो पटक संसद प्रमुख प्रतिपक्षी बिना पनि चल्यो। अस्ति डा गोविन्द केसीको केससम्म कांग्रेसका सांसद उभिँदा संसद रोकिएको थियो।

संसदको बैठक सकिएपछि यसबारे प्रश्न राख्दा सभामुख महराले भने, यो नयाँ कुरै हैन। यसअघि २०४८ सालमा पनि प्रतिपक्षीले संसद छोडेर हिँड्दा संसद चलेको थियो।