narayankagi-tapaikokhabarकाठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रवत्ता पदबाट राजीनामा दिएपछि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा छन् ।

पार्टीको निती विपरित डा. गोबिन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सचिवालय बैठकमा मौखिक स्पष्टीकरण सोधे लगत्तै श्रेष्ठले राजीनामा लेखेर बैठकबाट बाहिरिएका थिए । प्रचण्डले पनि ओलीकै शैलिमा श्रेष्ठले डा. केसीलाई भेटेर उनको समर्थनमा लागेको आरोप लगाएका थिए ।

सत्याग्राही डा. केसीको आन्दोलनप्रति नरम श्रेष्ठले डा. केसीलाई भेटेका थिए तर जुन कुरो सरकारका प्रतिनिधीलाई मन परेको थिएन । श्रेष्ठले प्रवत्ताबाट राजीनामा दिए पनि राजीनामा स्वीकृत भएको छैन । ओली -प्रचण्डले एमाले बरिष्ट नेता माधव कुमार नेपाललाई श्रेष्ठलाई फकाएर पूर्ववत जिम्मेवारीमा ल्याउने जिम्मा दिएका छन् ।

पार्टीलाई अप्ठयारो परेको वेला गाँठो फुकाउने काममा नेता नेपाल माहिर मानिन्छन् । विगतमा पनि पार्टी भित्र समस्या पर्दा नेता नेपालले मिलाउने गरेका थिए । यसपाली श्रेष्ठलाई फकाउन सकिन्छ सकिँदैन हेर्न बाँकी नै छ ।