प्रधानन्यायाधीशमा जोशी अनुमोदन नहुने सम्भावना बढी

                    दीपकराज जोशी
प्रधानन्यायाधीशमा सिफारिस भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने नगर्ने भन्ने सम्बन्धमा निर्णय गर्न आज दिउसो संसदीय सुनुवाइ समितिमा रहेका नेकपा सांसदहरुको बैठक बस्ने भएको छ। २ बजे हुने संसदीय सुनुवाई समितिको बैठकअघि नेकपाका सांसदहरुको बैठक सिँहदरवारस्थित नेकपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो।’

जोशीको नाम अनुमोदन गर्ने नगर्ने भन्ने सम्बन्धमा आफ्नो स्वविवेक प्रयोग गर्न नेकपाका शीर्ष नेताहरुले संसदीय सुनुवाई समितिमा रहेका नेताहरुलाई सुझाव दिएका छन्। नेताहरुले स्वविवेक प्रयोग गर्न भनेपछि सुनुवाई समितिमा रहेका ९ जना सदस्यहरुको समान धारणा निर्माणका लागि बैठक बस्न लागिएको हो।

‘शीर्ष नेताहरुले कुनै निर्देशन दिनुभएको छैन, जे गर्ने हो, आफ्नो विवेक प्रयोग गरेर निर्णय गर्नुस् भन्नु भएको छ, राम्रो तरिकाले गर्नुस् भन्ने उहाँहरुको सुझाव छ’ संसदीय सुनुवाई समितिका सदस्य समेत रहेको नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले भने, ‘सुनुवाई समितिको बैठक अघि बैठक बसेर के गर्ने भन्ने विषयमा समान धारणा निर्माण गर्दैछौँ।’

नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङले पनि सबै निर्णय सुनुवाई समितिमार्फत् नै हुने बताए। ‘नेताहरुले निर्णय संसदीय सुनुवाई समतिलिे नै गरोस् भन्नु भएको छ, किनभने निर्णय गर्ने निकाय त्यही हो’ नेम्वाङले नेपालखबरसँग भने, ‘त्यसैले, जे हुने हो, आजको बैठकबाटै निर्णय हुन्छ।’

नेकपाका नेता र सांसदहरुसँगको अनौपचारिक कुराकानीबाट के बुझिन्छ भने, प्रस्तावित प्रधानन्यायाधीसमा प्रस्ताव गरिएका बरिष्ठ न्यायाधीस जोशीको नाम अनुमोदन गर्ने पक्षमा उनीहरु त्यति सकरात्मक छैनन्। सुनुवाई समितिमा रहेका एक सांसदले भने, ‘प्रस्तावित प्रधानन्यायाधीस जोशी आफै विवादमा पर्नु भएको छ, सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीसका सन्दर्भमा विवादास्पद निर्णय गर्दैन।’